प्रचार सामग्री नआउँदै ‘पेन्सन पट्टा’को विदेशमा माग, बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

प्रचार सामग्री नआउँदै ‘पेन्सन पट्टा’को विदेशमा माग, बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री
प्रचार सामग्री नआउँदै ‘पेन्सन पट्टा’को विदेशमा माग, बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

काठमाडौँ । निर्देशक माओत्से गुरुङको नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुल्न सफल भएको छ। फिल्मको गीत, टिजर वा ट्रेलर सार्वजनिक नभइसके पनि बेलायत र हङकङका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।

निर्देशक गुरुङको सफल फिल्म ‘दयारानी’पछि निर्माण भएको दोस्रो मूलधारको फिल्म ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गते हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा छ।

निर्माण टिमका अनुसार बेलायतमा फिल्मको प्रदर्शन अधिकार ‘सपन इन्टरटेन्टमेन्ट’ले खरिद गरेको छ भने हङकङमा ‘मेन ड्रागन’मार्फत प्रदर्शन गरिनेछ। प्रदर्शनअघि नै विदेशबाट प्राप्त सकारात्मक प्रतिक्रिया र मागले निर्माण टिम उत्साहित बनेको छ।

निर्देशक माओत्से गुरुङले प्रचार सामग्री सार्वजनिक हुनुअघि नै अन्तर्राष्ट्रिय बजारबाट देखिएको चासोले आफूलाई थप ऊर्जा मिलेको बताउँदै अन्य देशहरूबाट पनि प्रदर्शनका लागि प्रस्ताव आइरहेको जानकारी दिए।

‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्मले लोभी स्वभावको एक व्यक्तिको जीवनमा आउने परिवर्तन र उसले कसरी दानी व्यक्तित्वको रूप लिन्छ भन्ने रोचक कथावस्तु प्रस्तुत गर्नेछ।

फिल्ममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बलियो उपस्थिति रहेको छ। दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, गौमाया गुरुङ, सोल गुरुङ, राज थापा काउचा, पुष्कर गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ तथा प्रतिक्षा गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा निर्देशक गुरुङ स्वयंले लेखेका हुन्। मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ निर्माताका रूपमा रहेका छन्। छायांकन सुशन प्रजापति, सम्पादन कियर कोइच तथा संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले गरेका छन्।

बलियो कथावस्तु, अनुभवी कलाकारहरूको जमघट र सक्षम प्राविधिक टोलीका कारण ‘पेन्सन पट्टा’प्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको निर्माण पक्षको विश्वास छ।