‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन
काठमाडौं/ बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत तथा प्रतिस्पर्धामा सहभागी भएका ६ चिनियाँ फिल्म काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत छायाँ हलमा तीन दिनसम्म चलेको विशेष प्रदर्शनीमा विभिन्न विधाका चिनियाँ चलचित्रहरू देखाइएका हुन्।
बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र चीन चलचित्र प्रशासन को सहकार्यमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान सँगको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। आयोजकका अनुसार तीन दिनसम्म चलेको प्रदर्शनीमा करिब १४ सय दर्शकले फिल्म अवलोकन गरेका थिए।
आयोजकहरूले यस्ता कार्यक्रमले नेपाल र चीनबीच चलचित्र आदान–प्रदान तथा सांस्कृतिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। प्रतिष्ठानका अध्यक्ष केपी पाठक ले चिनियाँ फिल्मकर्मीले नेपाली बजारलाई गम्भीर रूपमा लिन थालेको अनुभव साझा गर्दै आगामी दिनमा दुवै देशका फिल्महरू एक–अर्काको बजारमा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण बन्ने अपेक्षा व्यक्त गरे।
उनले भने, “यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक तथा फिल्मी सम्बन्धलाई अझ मजबुत बनाउँछ र बजार विस्तारको ढोका खोल्छ। चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चोउ पान ले फिल्मलाई दुई देशबीचको सांस्कृतिक आदान–प्रदानको सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। उनका अनुसार फिल्मले भाषा र भूगोलको सीमालाई पार गर्दै जनस्तरमा सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
प्रदर्शित फिल्महरूमा विभिन्न विधा समेटिएका थिए। पहिलो दिन ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन गरिएको थियो। दोस्रो दिन ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ देखाइएको थियो भने अन्तिम दिन ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ पुनः प्रदर्शन गरिएको थियो।
पहिलो दिन प्रदर्शित ‘ट्रयाप्ड’ का निर्देशक सागर झाङ ले फिल्म प्रदर्शनपछि नेपाली दर्शकसँग अन्तरक्रिया गरेका थिए। उनले किशोरावस्थाका अनुभवमा आधारित सस्पेन्स–क्राइम कथालाई फिल्ममा उतारेको जानकारी दिएका थिए।
झिहाई लिउ निर्देशित ‘बियोन्ड द स्काइज’ ले सन् १९३५ को चिनियाँ गृहयुद्धको पृष्ठभूमिमा ४८ घण्टाको जोखिमपूर्ण सैन्य अभियानको कथा प्रस्तुत गरेको छ। वु सुआङ निर्देशित ‘समर डायरी’ ले बालकले आमाको खोजीमा सहर पुग्दा भोग्ने जीवन–परिवर्तनलाई देखाएको छ।
त्यस्तै झाङ लु निर्देशित ‘द स्याडोलेस टावर’ ले असफल वृत्तचित्र निर्माताको जीवनमा आउने रहस्यमय घटनालाई केन्द्रमा राखेको छ भने दाशाङ कोङ निर्देशित ‘जर्नी टु द वेस्ट’ हास्य र कल्पनामा आधारित मनोरञ्जनात्मक कथा प्रस्तुत गर्छ। ‘लस्ट इन द स्टार्स’ भने सस्पेन्स–क्राइम विधामा आधारित, थाइल्यान्डमा घटेको वास्तविक घटनाबाट प्रेरित फिल्म हो।
कार्यक्रमले नेपाली दर्शकलाई अन्तर्राष्ट्रिय स्तरका फिल्महरूसँग परिचित गराउनुका साथै दुवै देशबीच सांस्कृतिक र चलचित्र सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको सहकार्यमा सम्पन्न यो प्रदर्शनीले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।


Tulac








