‘लालीबजार’ : ‘मै राम्री छु त नी’ सार्वजनिक 

‘लालीबजार’ : ‘मै राम्री छु त नी’ सार्वजनिक 

काठमाडौँ । 

गत वैशाख २५ गतेदेखि सफलतापुर्वक प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ को गीत ‘मै राम्री छु त नी’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन अगाडि सानो अंश सार्वजनिक गरिएको गीतलाई पुरा स्वरूपमा ल्याउन दर्शकमार्फत डिमाण्ड बढेपछि निर्माण पक्षले शुक्रबार पुरा गीत सार्वजनिक गरेको हो । सानो अंश सार्वजनिक हुँदै यसलाई टिकटक, रील्स लगायतमा सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।  

निर्माण कम्पनि षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । गीतमा प्रकाश सपूतको शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक गीतमा फिल्मकी मुख्यपात्र स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मा लगायत फिचर्ड छन् । गीतलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन् । गीतमा नारी सुन्दरताको बयान गरिएको छ । गीतको केन्द्रमा स्वस्तिमा छिन् । 

छोरी रक्षाका लागि आमाले गर्ने सङ्घर्षको कथामा तयार गरिएको फिल्म ‘लालीबजार’ घरेलुबजारमा विसं २०८३ मा प्रदर्शन भएका फिल्म मध्ये सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनिसकेको छ । घरेलुबजारमा ९ करोडको आकडा पार गरिसकेको यस फिल्मले १० करोड क्लबतर्फ आफ्नो यात्रा अगाडि बढाएको छ ।  

निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्मको ट्रेलर षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।