असोज २ मा आउँदै ‘कार्की साइँला’, भरियाको संघर्षको कथा लिएर जितु नेपाल फरक भूमिकामा

असोज २ मा आउँदै ‘कार्की साइँला’, भरियाको संघर्षको कथा लिएर जितु नेपाल फरक भूमिकामा
असोज २ मा आउँदै ‘कार्की साइँला’, भरियाको संघर्षको कथा लिएर जितु नेपाल फरक भूमिकामा

काठमाडौं । नेपाली समाजका श्रमिक वर्गको संघर्ष, पसिना र जीवन भोगाइलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । यसअघि साउन १ गतेलाई प्रदर्शन मिति तय गरिएको भए पनि वितरकहरूसँगको परामर्श र बजार अवस्थाको मूल्याङ्कनपछि निर्माण पक्षले फिल्मको रिलिज मिति सार्ने निर्णय गरेको हो ।

नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा मुख्य कलाकार जितु नेपाल र प्रियना आचार्य मुन्नीलाई विशेष शैलीमा प्रस्तुत गरिएको छ । पोस्टरले फिल्मको कथावस्तु र पात्रहरूको जीवन संघर्षलाई संकेत गर्ने प्रयास गरेको देखिन्छ ।

लामो समयदेखि हास्य अभिनयमार्फत दर्शकमाझ लोकप्रिय रहेका जितु नेपाल यसपटक भने बिल्कुलै फरक भूमिकामा देखिँदैछन् । फिल्ममा उनले एक भरियाको चरित्र निर्वाह गरेका छन्, जसको जीवन, दुःख, मेहनत र संघर्षको कथा पर्दामा प्रस्तुत गरिनेछ । निर्माण पक्षका अनुसार ‘कार्की साइँला’ले समाजका श्रमिक र निम्नवर्गीय समुदायको यथार्थलाई संवेदनशील ढंगले उजागर गर्नेछ ।

फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुन्नीसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्सी शर्मा, मनिल तामाङ र रेणुका आचार्यको अभिनय रहेको छ । फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गरेका हुन् भने निर्माण बालकुमार राईले गरेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको ‘कार्की साइँला’ले श्रम, संघर्ष र मानवीय संवेदनाको कथा लिएर दर्शकमाझ आउने तयारी गरेको छ ।

फरक विषयवस्तु र जितु नेपालको नयाँ अवतारका कारण फिल्मप्रति अहिले नै दर्शकमाझ चासो बढ्न थालेको निर्माण टिमको विश्वास छ ।