महाराजधिराज’मा पूजना प्रधानको प्रवेश, भव्य फिल्ममा थपियो अर्को सशक्त अनुहार

महाराजधिराज’मा पूजना प्रधानको प्रवेश, भव्य फिल्ममा थपियो अर्को सशक्त अनुहार
महाराजधिराज’मा पूजना प्रधानको प्रवेश, भव्य फिल्ममा थपियो अर्को सशक्त अनुहार

काठमाडौं । नेपाली फिल्म उद्योगकै ठूलो क्यानभासमा निर्माण भइरहेको बहुप्रतीक्षित ‘सोसल पिरियड ड्रामा’ फिल्म ‘महाराजधिराज’मा अभिनेत्री पूजना प्रधान अनुबन्धित भएकी छन् । फिल्मको छायांकन आधाभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा निर्माण पक्षले उनको औपचारिक प्रवेश गराएको हो ।

७० दिनको छायांकन तालिका रहेको फिल्मको ३३औँ दिनको सुटिङ चलिरहेका बेला सोमबार निर्माण टिमले पूजना प्रधान कलाकार टोलीमा आबद्ध भएको जानकारी दिएको हो । निर्माण पक्षका अनुसार उनको प्रवेशसँगै फिल्मको कलाकार टोली अझ बलियो र सशक्त बनेको छ ।

फिल्मका प्रस्तुतकर्ता विराज विष्टले पूजना एक सक्षम र अनुभवी कलाकार भएकाले उनलाई टिममा भित्र्याइएको बताए । उनका अनुसार फिल्मका केही महत्वपूर्ण पात्रका लागि उपयुक्त कलाकारको खोजी भइरहेका बेला पूजना उत्कृष्ट विकल्पका रूपमा देखिएकी हुन् ।

सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गरिएको ‘महाराजधिराज’ हाल काठमाडौंका विभिन्न स्थानमा सुटिङ गरिरहेको छ । यसअघि भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरूमा समेत फिल्मको महत्वपूर्ण दृश्यहरू खिचिएको निर्माण टिमले जनाएको छ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मका लेखक तथा निर्देशक परिच्छेद सेन हुन् । ऐतिहासिक र सामाजिक परिवेशमा आधारित कथावस्तु समेटिएको यस फिल्मलाई नेपाली फिल्म उद्योगकै महत्वाकांक्षी परियोजनामध्ये एक मानिएको छ । छायांकनको जिम्मेवारी नवराज थापाले सम्हालिरहेका छन् ।

फिल्ममा करिब ८० जना कलाकारहरूको सहभागिता रहनेछ । मुख्य भूमिकामा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, नीर शाह, दिनेश डीसी, मोहन निरौला र सुशील सिटौला रहेका छन् ।

यस्तै हिउँवाला गौतम, विशाल पहाडी, प्रिया रिजाल, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटा लगायतका कलाकारको पनि फिल्ममा अभिनय रहनेछ । कमल गाउँले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अञ्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारहरू पनि फिल्ममा देखिनेछन् ।

रवि खड्का र टोपेन्द्र विष्ट निर्माताको रूपमा रहेका ‘महाराजधिराज’ ठूलो लगानी, भव्य सेट निर्माण, ऐतिहासिक पृष्ठभूमि र स्टार कलाकारहरूको बाक्लो उपस्थितिका कारण अहिलेबाटै चर्चाको केन्द्रमा रहेको छ । पूजना प्रधानको प्रवेशसँगै फिल्मप्रतिको उत्सुकता झन् बढ्ने विश्वास निर्माण पक्षले लिएको छ ।