भुवन–अनमोलको ‘बाटुलो जून’ छायांकन सकियो, प्रदर्शनको प्रतीक्षा सुरु

भुवन–अनमोलको ‘बाटुलो जून’ छायांकन सकियो, प्रदर्शनको प्रतीक्षा सुरु
भुवन–अनमोलको ‘बाटुलो जून’ छायांकन सकियो, प्रदर्शनको प्रतीक्षा सुरु

काठमाडौं । अभिनेता तथा निर्देशक भुवन केसीको बहुप्रतीक्षित फिल्म ‘बाटुलो जून’ को छायांकन सम्पन्न भएको छ। फिल्मका मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत छायांकन सकिएको जानकारी दिँदै एक वर्ष लामो यात्राको सम्झना साटेका छन्।

अनमोलले लेखेका छन्, “एक वर्षको समर्पण, अथक मेहनत र अविस्मरणीय सम्झनापछि हाम्रो काम अन्ततः सम्पन्न भएको छ। अब अर्को समयको अर्को कथासँग छिट्टै भेट हुनेछ। हामी पूरै भिजेकोमा ध्यान नदिनुहोस्, किनकि हाम्रो अन्तिम दृश्य वर्षाको दृश्य थियो।”

उनले सार्वजनिक गरेको तस्बिरमा निर्देशक भुवन केसी र फिल्मकी डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा पनि देखिएकी छन्। अन्तिम दृश्य नै वर्षामा खिचिएकाले तस्बिरमा तीनै जना भिजेको अवस्थामा देखिएका छन्।

फिल्मको अन्तिम चरणको छायांकन काठमाडौं नजिकको नुवाकोट क्षेत्रमा गरिएको जनाइएको छ। छायांकन सकिएसँगै अब फिल्म पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गर्नेछ।

‘बाटुलो जून’पछि अनमोल केसी निर्देशक झरना थापाको नयाँ फिल्म ‘ए मेरो हजुर ५’ मा व्यस्त हुने तयारीमा छन्। ‘बाटुलो जून’ मार्फत भुवन केसी लामो अन्तरालपछि निर्देशनमा फर्किएका हुन्, जसलाई लिएर दर्शकमाझ उत्सुकता समेत बढेको छ।