आँखाभरि खुसीका आँसु, ‘मह’ यात्राको कथा अब पर्दामा : मदनकृष्ण श्रेष्ठको बायोपिक बन्ने

आँखाभरि खुसीका आँसु, ‘मह’ यात्राको कथा अब पर्दामा : मदनकृष्ण श्रेष्ठको बायोपिक बन्ने
आँखाभरि खुसीका आँसु, ‘मह’ यात्राको कथा अब पर्दामा : मदनकृष्ण श्रेष्ठको बायोपिक बन्ने

काठमाडौं । धिमे बाजाको गुञ्जन, गलाभरि फूलका माला र खादा, अनि जीवनभरका अभिन्न सहयात्री हरिवंश आचार्य छेउमै। आफ्नै जीवनका संघर्ष, सफलता र स्मृतिहरू समेटिएको चलचित्र निर्माणको औपचारिक घोषणा हुँदा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका आँखामा खुसीका आँसु टिलपिलाए।

बिहीबार काठमाडौंमा आयोजित भावुक र भव्य समारोहबीच नेपाली चलचित्र इतिहासमै पहिलो पटक कुनै अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुने घोषणा गरिएको हो। ‘मदनकृष्ण’ नाम दिइएको चलचित्रको शुभारम्भ ‘मह जोडी’का दुई हस्ती मदनकृष्ण श्रेष्ठहरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्।

चलचित्र घोषणा अघि निर्माण टोलीले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको थियो भने कार्यक्रमको सुरुवात चर्चित गायिका आनी छोइङ डोल्माको स्वस्तिवाचनबाट गरिएको थियो। नेपाली चलचित्रमा यसअघि स्वरसम्राट नारायण गोपालभक्तराज आचार्यको जीवनमा आधारित फिल्म बने पनि कुनै अभिनेताको बायोपिक बन्ने यो पहिलो अवसर हो।

चलचित्रले मदनकृष्णको बाल्यकालदेखि सरकारी सेवामा बिताएका दिन, अन्तरजातीय विवाहका चुनौती, पारिवारिक संघर्ष तथा हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्यसम्मको यात्रा प्रस्तुत गर्नेछ। चलचित्रमा मदनकृष्णको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्।

यस्तै कलाकारहरू राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठदेशभक्त खनालको पनि अभिनय रहनेछ। तर मदनकृष्णको जीवनका अभिन्न पात्र हरिवंश आचार्यको भूमिका कसले निभाउने भन्ने विषय भने निर्माण टोलीले गोप्य राखेको छ।

चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन्। ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित ‘अञ्जिला’ निर्देशन गरिसकेका चाम्स बायोपिक विधाका अनुभवी निर्देशक मानिन्छन्।

कार्यक्रममा भावुक बनेका मदनकृष्णले भने, “दर्शकले अब मेरो जीवनलाई अझ नजिकबाट बुझ्न पाउनुहुनेछ। मेरो यात्रामा हरिवंशजीको योगदान अत्यन्त महत्वपूर्ण छ, जुन चलचित्रमा पनि देखिनेछ।”

त्यसैगरी हरिवंश आचार्यले चलचित्रप्रति विश्वास व्यक्त गर्दै भने, “मदन दाइको जीवनकथा पर्दामा आउनु गर्वको विषय हो। निर्देशक मिलन चाम्सले यो कथालाई न्याय दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।”

कार्यक्रममा दिनेश डिसीले पनि चलचित्र नेपाली फिल्म उद्योगका लागि अर्को महत्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गरे।

भिन्टेज मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। आगामी भदौको दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन्।

लोकप्रिय कलाकारको संघर्ष, सफलता र प्रेरणादायी यात्रालाई समेट्ने भएकाले ‘मदनकृष्ण’ घोषणा भएसँगै दर्शक र चलचित्रप्रेमीमाझ उत्सुकता तथा प्रतीक्षा झन् बढेको छ।