छाउपडी प्रथाविरुद्ध सशक्त आवाज बनेर आउँदै ‘हली’, मर्मस्पर्शी टिजर सार्वजनिक

छाउपडी प्रथाविरुद्ध सशक्त आवाज बनेर आउँदै ‘हली’, मर्मस्पर्शी टिजर सार्वजनिक
छाउपडी प्रथाविरुद्ध सशक्त आवाज बनेर आउँदै ‘हली’, मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । नेपाली समाजमा अझै पनि जरा गाडेर बसेको कुप्रथा छाउपडी विरुद्ध सशक्त सन्देश बोकेको नयाँ नेपाली फिल्म ‘हली’ प्रदर्शनको तयारीमा रहेको छ। आगामी साउन २२ गते देशभरका फिल्म हलमा रिलिज हुने फिल्मको मर्मस्पर्शी टिजर सार्वजनिक भएसँगै यसले सामाजिक बहसको विषयसमेत बन्न थालेको छ।

हालै सार्वजनिक गरिएको १ मिनेट २८ सेकेन्ड लामो टिजर ले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेको पीडा, विभेद र अमानवीय व्यवहारलाई निकै संवेदनशील ढंगले प्रस्तुत गरेको छ। टिजरमा महिनावारी भएका कारण एउटी किशोरीलाई परिवार र समाजबाट अलग्गै राखेर छाउगोठमा बस्न बाध्य पारिएको दृश्यले दर्शकलाई भावुक बनाउँछ। आफ्नै घरभित्र सुरक्षित हुनुपर्ने बालिका सामाजिक अन्धविश्वासका कारण एक्लोपन, भय र अपमान सहन बाध्य भएको यथार्थ टिजरमा देखाइएको छ।

तर फिल्मले केवल पीडा र अन्याय मात्र चित्रण गर्दैन। टिजरमा एक शिक्षित युवा छाउपडीजस्तो कुरीतिविरुद्ध कानुनी र सामाजिक लडाइँमा उत्रिएको देखिन्छ। समाजले सामान्य मानेर स्वीकार गरेको विभेदलाई चुनौती दिँदै न्याय र परिवर्तनको पक्षमा उभिने पात्रमार्फत फिल्मले सकारात्मक सन्देश दिन खोजेको छ। यही पक्षले ‘हली’लाई केवल सामाजिक यथार्थको कथा नभई परिवर्तनको अभियान बोकेको चलचित्रका रूपमा स्थापित गर्ने संकेत दिएको छ।

निर्देशक ओम प्रतिक स्वयं मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, विद्या कार्की र नवीन श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ। सामाजिक मुद्दालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मलाई जापुरा फिल्म्स र शुभ चिरायु फिल्म्स ले संयुक्त रूपमा निर्माण गरेका हुन्।

फिल्मको विषयवस्तु गम्भीर भए पनि यसको प्रचारप्रसारलाई आकर्षक बनाइएको छ। प्रमोशनल गीतमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा को विशेष उपस्थितिले फिल्मप्रति दर्शकको चासो थप बढाएको छ।

‘हली’ केवल मनोरञ्जनका लागि बनेको चलचित्र होइन, यो नेपाली समाजलाई आफ्नै व्यवहार र सोचबारे पुनः प्रश्न गर्न बाध्य बनाउने प्रयास हो। महिलाको सम्मान, समानता र मानव अधिकारसँग जोडिएको छाउपडीजस्तो कुप्रथाविरुद्ध जनचेतना फैलाउने उद्देश्य बोकेको यो फिल्मले दर्शकमाझ गहिरो प्रभाव छोड्ने अपेक्षा गरिएको छ। साउन २२ गतेबाट प्रदर्शनमा आउने ‘हली’ले सामाजिक परिवर्तनको बहसलाई अझ बलियो बनाउने विश्वास निर्माण पक्षले गरेको छ।