चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी  विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी  विजयी

नेपाल चलचित्र कलाकार संघको २१औँ साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि सम्पन्न अधिवेशनबाट कलाकार उत्तम केसी ‘चुईचुई पारेर’ अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँमा आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सोमबार मध्यरात १२ः२७ बजे सार्वजनिक गरिएको हो ।

कुल ३५६ मत खसेको निर्वाचनमा अध्यक्षका प्रत्याशी अभिनेता सबिन श्रेष्ठलाई पछि पार्दै केसीले २१६ मतसहित स्पष्ट जित हासिल गरेका हुन् । श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए । कलाकार संघको नेतृत्वका लागि भएको प्रतिस्पर्धालाई कलाकार वृत्तमा निकै चासोका साथ हेरिएको थियो ।

संघको दुई उपाध्यक्ष पदमा शिवहरि बैरागी र पूजना प्रधान विजयी भएका छन् । बैरागीले १४६ तथा प्रधानले १४४ मत प्राप्त गरे । उनीहरूका प्रतिस्पर्धी पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ र राजेन्द्र बस्नेतले १८ मत प्राप्त गरेका थिए ।

महासचिव पदमा सुनिल कटवाल विजयी बनेका छन् । उनले १९५ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटीलाई पराजित गरे । बुर्लाकोटीले १२५ मत प्राप्त गरेका थिए । सचिव पदमा भने गोपाल ढकालले २१४ मतसहित प्रभावशाली जीत निकाले । उनकी प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरिन् ।

कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी पवित्रा आचार्यले १०६ र खुश्वु खड्काले ५८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी भए । उनले गीता नेपाललाई झिनो अन्तरले पराजित गरेका हुन् । नेपालले १५३ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी, खुला कार्यसमिति सदस्यतर्फ १० पदका लागि २८ जना कलाकार चुनावी मैदानमा उत्रिएका थिए । जसमा दमन रुपाखेती सर्वाधिक १४६ मतसहित विजयी भए । इन्द्रबहादुर लामा ‘खम्बे’ले १३०, चन्द्रकला राई ‘लब्ली संगम’ले ११६ तथा छुल्ठिम गुरुङले १११ मत प्राप्त गर्दै कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित नेतृत्वले कलाकारहरूको हकहित संरक्षण, चलचित्र क्षेत्रको व्यावसायिक विकास तथा संघलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।