सप्तरीको राजविराजमा 'कुम्भ' विशेष प्रचार कार्यक्रम सम्पन्न, फिल्म यही जेठ १५ देखि रिलिज हुँदै
इटहरी/ नेपाली फिल्म ‘कुम्भ’ले प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसलमा आफ्नो प्रचारप्रसारलाई बाक्लो बनाउन थालेको छ । एक्सन जनरामा निर्माण भएको यो फिल्मको प्रचार अभियान अहिले काठमाण्डौभन्दा बाहिर केन्द्रित देखिएको छ । यही क्रममा सोमबार अर्थात् जेठ ३ गते सप्तरीको राजविराजमा फिल्मको विशेष प्रचारप्रसारात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
सप्तरी कलाकार संघ नेपाल मधेश प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रम राजविराजस्थित आरबी होटल ग्रीन गार्डेनको सभाहलमा दिउँसो १ बजेदेखि सुरु भएको थियो । कार्यक्रममा फिल्मका कलाकार, निर्माण टिम, स्थानीय अतिथि तथा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरूले फिल्म ‘कुम्भ’ सफल प्रदर्शनको शुभकामना व्यक्त गर्दै नेपाली फिल्मप्रतिको दर्शक आकर्षण अझ बढोस् भन्ने अपेक्षा राखेका थिए ।
निर्माण टिमले भने फिल्मको कथावस्तु, प्रस्तुति र निर्माण यात्राबारे जानकारी दिँदै नेपाली फिल्मलाई साथ दिन आग्रह गरेको थियो । यही जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘कुम्भ’को अफिसियल पोस्टर र टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । सार्वजनिक सामग्रीमार्फत फिल्मले दर्शकमाझ उत्सुकता पैदा गरिरहेको निर्माण पक्षको भनाइ छ ।
ए. रस प्रोडक्सन र रा डिजिटल नेपालको प्रस्तुतिमा बनेको फिल्ममा रणधिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा रणधिर श्रेष्ठ र राजेश शाहको लगानी रहेको छ भने ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माताका रूपमा रहेका छन् । ‘द रेन अफ पावर’ अर्थात् ‘शक्तिको शासन’ ट्यागलाइन बोकेको ‘कुम्भ’ले एक्सन र शक्ति संघर्षको कथालाई पर्दामा उतार्ने निर्माण टिमको दाबी छ । रिलिज नजिकिँदै जाँदा फिल्म युनिट अहिले देशका अन्य विभिन्न सहरमा पुगेर प्रचारलाई थप तीव्र बनाउने तयारीमा छ ।


admin@cinekura.com 







