लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक, प्रेम, संघर्ष र पारिवारिक सम्बन्धको झलक
आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लज्जावती’ ले प्रदर्शनअघि आफ्नो प्रचार अभियानलाई तीव्र बनाउँदै एकैपटक पाँचवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरूले फिल्मका प्रमुख पात्रहरूको मनोविज्ञान, उनीहरूबीचको सम्बन्ध तथा कथावस्तुको विविध आयामलाई संकेत गर्दै दर्शकमाझ फिल्मप्रतिको उत्सुकता बढाउने प्रयास गरेका छन्।
निर्माण पक्षका अनुसार पोस्टरहरू केवल पात्र परिचयका लागि मात्र नभई फिल्मको भाव, परिवेश र कथाको मर्म प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको हो। पोस्टरमा ग्रामीण र सहरी जीवनशैली, प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संघर्ष र भावनात्मक उतारचढावलाई आकर्षक ढंगले चित्रण गरिएको छ।
सार्वजनिक पोस्टरमध्ये एउटा पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्। उनीहरूको अभिव्यक्तिले फिल्ममा प्रेमकथाले विशेष स्थान ओगटेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुनको काँधमा श्रीकृष्ण निरौला चढेको रमाइलो दृश्य प्रस्तुत गरिएको छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि सँगै देखिन्छन्। यसले फिल्ममा हास्य, पारिवारिक आत्मीयता र मनोरञ्जनात्मक पक्षलाई समेत प्राथमिकता दिइएको आभास गराउँछ।
यस्तै अर्को पोस्टरमा मुकुन भुसाल, श्रीकृष्ण निरौला र मेनुका माझी गम्भीर भावमा प्रस्तुत भएका छन्। पोस्टरको पृष्ठभूमिमा ग्रामीण र सहरी परिवेशको मिश्रण देख्न सकिन्छ, जसले कथावस्तु सामाजिक यथार्थ, सम्बन्धका जटिलता र जीवनका विभिन्न भोगाइमा केन्द्रित रहेको संकेत गर्छ।
निर्माण टिमका अनुसार ‘लज्जावती’ विशुद्ध प्रेमकथा मात्र होइन। यसले प्रेमसँगै परिवार, समाज, सम्बन्ध र मानिसका भावनात्मक संघर्षलाई समेत गहिरो रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। यही कारण पोस्टरहरूमा पनि प्रत्येक पात्रलाई फरक मनोविज्ञान र अवस्थासहित चित्रण गरिएको निर्माण पक्षको भनाइ छ।
आहा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन राजबहादुर साने ले गरेका हुन्। फिल्ममा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धीरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् भने निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया रहेका छन्। कार्यकारी निर्माता दिनेश बुढाथोकी रहेको फिल्ममा दिव्यराज सुवेदी को छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन तथा देव महर्जन को द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरणको जिम्मेवारी कुबेर सिने डिस्ट्रिब्युसन ले लिएको छ।
सार्वजनिक पोस्टरहरूले फिल्मप्रतिको अपेक्षा थप बढाएको निर्माण पक्षको विश्वास छ। अब साउन २९ गते दर्शकले पोस्टरमा देखिएको कथा र पात्रहरूको वास्तविक यात्रा ठूलो पर्दामा कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने प्रतीक्षामा छन्।


Tulac








