एआईबाट गीत दुरुपयोग बढेपछि गायक सुगम पोखरेलको चेतावनी, स्रष्टाको अधिकार संरक्षणमा सरकारको ध्यानाकर्षण

एआईबाट गीत दुरुपयोग बढेपछि गायक सुगम पोखरेलको चेतावनी, स्रष्टाको अधिकार संरक्षणमा सरकारको ध्यानाकर्षण
एआईबाट गीत दुरुपयोग बढेपछि गायक सुगम पोखरेलको चेतावनी, स्रष्टाको अधिकार संरक्षणमा सरकारको ध्यानाकर्षण

काठमाडौं /  कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर कलाकारका मौलिक गीतहरू अनुमति बिना परिमार्जन गरी डिजिटल प्लेटफर्ममा अपलोड गर्ने प्रवृत्ति बढ्दै गएपछि गायक सुगम पोखरेलले स्रष्टाको बौद्धिक सम्पत्ति अधिकार संरक्षणको विषय उठाएका छन्। उनले यस्तो कार्य तत्काल रोक्न आग्रह गर्दै आवश्यक परे कानुनी कारबाही अघि बढाउने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै पोखरेलले एआईबाट आफ्ना गीतहरू तोडमोड गरी युट्युबलगायत डिजिटल प्लेटफर्ममा अपलोड गरिएका केही च्यानलहरूको स्क्रिनसटसमेत सार्वजनिक गरेका छन्। उनले अनुमति बिना सिर्जनाको प्रयोग गरी आर्थिक लाभ लिनु प्रचलित कानुनविपरीत भएको उल्लेख गरेका छन्।

उनका अनुसार आफू मात्र होइन, अन्य कलाकारका सिर्जनासमेत एआई प्रयोग गरेर परिवर्तन गरी सार्वजनिक गर्ने क्रम बढ्दो छ। यस्तो सामग्री तत्काल हटाउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गर्दै उनले आग्रहको बेवास्ता गरिए कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

पोखरेलका चर्चित गीत ‘फेरि त्यो दिन’, ‘जाँदैछु टाढा’, ‘कति दिन बिते’, ‘मायाको बाटो’ र ‘सम्हालिन्छ कहिलेलाई’ लगायतका सिर्जनालाई एआईमार्फत परिमार्जन गरी युट्युबमा अपलोड गरिएको उनले दाबी गरेका छन्।

यस विषयलाई गम्भीर रूपमा उठाउँदै पोखरेलले सामाजिक सञ्जालमार्फत सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्। उनका अनुसार कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसँगै स्रष्टाको बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार र डिजिटल सामग्रीको संरक्षणका लागि स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक भएको छ।

संगीत क्षेत्रमा एआईको प्रयोग बढिरहेका बेला कलाकारको अनुमति बिना सिर्जना परिमार्जन गरी व्यावसायिक रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी तथा नीतिगत व्यवस्था प्रभावकारी बनाउनुपर्ने बहस पनि यससँगै पुनः चर्किएको छ।