कोशीलाई फिल्म छायांकनको केन्द्र बनाउने पहल, नीतिगत सहकार्यमा जोड

कोशीलाई फिल्म छायांकनको केन्द्र बनाउने पहल, नीतिगत सहकार्यमा जोड
कोशीलाई फिल्म छायांकनको केन्द्र बनाउने पहल, नीतिगत सहकार्यमा जोड

सुनसरी / कोशी प्रदेशलाई फिल्म छायांकनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित सुनसरीको झुम्कामा आयोजित ‘कोशी प्रदेश चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमले प्रदेशको फिल्म उद्योगको विकासका लागि नीतिगत बहसलाई नयाँ दिशा दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोग तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा फिल्म क्षेत्रका चुनौती, सम्भावना, छायांकनमैत्री वातावरण निर्माण र सरकारी सहकार्यका विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले प्रदेशको फिल्म क्षेत्रको वर्तमान अवस्था, समस्या, चुनौती र भावी सम्भावनालाई समेटिएको अवधारणापत्र प्रमुख अतिथि तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई हस्तान्तरण गरेका थिए। अवधारणापत्र ग्रहण गर्दै मन्त्री पराजुलीले फिल्म उद्योगलाई पर्यटन, संस्कृति र आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै यसको प्रवर्द्धनमा प्रदेश सरकार सकारात्मक रहेको बताए।

अध्यक्ष प्रधानले कोशी प्रदेशलाई फिल्म निर्माणको आकर्षक ‘हब’ बनाउन छायांकनमैत्री नीति, आवश्यक पूर्वाधार, लगानीमैत्री वातावरण र स्थानीय फिल्मकर्मीको क्षमता अभिवृद्धिमा सरकारसँग सहकार्य आवश्यक रहेको धारणा राखे।

अन्तरक्रिया सत्रमा वरिष्ठ रङ्गकर्मी गोपाल देवानले ‘कोशी प्रदेशमा फिल्मको इतिहास र भविष्य’ तथा थारु फिल्म तथा सांस्कृतिक संघका अध्यक्ष पर्शुराम चौधरीले ‘कोशी प्रदेशमा आदिवासी फिल्मको अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रदेशको मौलिक पहिचानलाई फिल्ममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा कोशी प्रदेशमै छायांकन गरिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेको फिल्म ‘उनको स्वीटर’का निर्देशक नवीन चौहान, अभिनेता विपिन कार्की र कार्यकारी निर्माता मिलन खत्रीलाई विशेष सम्मान गरिएको थियो। साथै, प्रदेशमा लामो समयदेखि फिल्म क्षेत्रमा योगदान पुर्‍याउँदै आएका कलाकार, प्राविधिक, फिल्मकर्मी तथा फिल्म पत्रकारहरूलाई सम्मान गरिएको थियो। चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सञ्जु राई र सुनसरी शाखाका निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा पनि सम्मानित भए।

यसै अवसरमा चलचित्र पत्रकार संघ नेपालका नवनिर्वाचित कोशी प्रदेश अध्यक्ष वीरेन्द्र शाहसहित सुनसरीका सुवास संकल्प श्रेष्ठ, मोरङका प्रेम देवान, झापाका एकराज प्रधान र इलामका अतीत योङहाङलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

विभिन्न जातजातिको मौलिक संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति र फिल्मकर्मीहरूको उल्लेख्य उपस्थितिबीच सम्पन्न कार्यक्रमले कोशी प्रदेशलाई फिल्म छायांकन र चलचित्र उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता अझ स्पष्ट रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन्।