युट्युब आम्दानीदेखि एआईको चुनौतीसम्म : किन सुस्तायो नेपाली गीत–संगीत निर्माण ?

युट्युब आम्दानीदेखि एआईको चुनौतीसम्म : किन सुस्तायो नेपाली गीत–संगीत निर्माण ?
युट्युब आम्दानीदेखि एआईको चुनौतीसम्म : किन सुस्तायो नेपाली गीत–संगीत निर्माण ?

काठमाडौं /  एक समय हरेक दिन नयाँ गीत र म्युजिक भिडियोले भरिने नेपाली संगीत बजार अहिले उल्लेखनीय रूपमा सुस्तिएको छ। डिजिटल प्लेटफर्ममा नयाँ सिर्जनाको संख्या घट्दै जाँदा संगीतकर्मीहरूले यसको पछाडि आर्थिक मन्दी, युट्युबबाट घट्दो आम्दानी, सामाजिक सञ्जालको बदलिँदो प्रवृत्ति, लगानीकर्ताको घट्दो विश्वास र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावलाई मुख्य कारणका रूपमा औंल्याएका छन्।

केही वर्षअघिसम्म महिनामा ८ देखि १० वटा म्युजिक भिडियो निर्देशन गर्ने निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्ट अहिले महिनामा दुईदेखि चारवटामा सीमित भएका छन्। उनका अनुसार पहिलेजस्तो युट्युबमा अर्ग्यानिक पहुँच नआउनु, भिडियो प्रवर्द्धनको बढ्दो खर्च र टिकटकमा केन्द्रित दर्शकको रुचिले संगीत बजारलाई प्रत्यक्ष असर पारेको छ। आर्थिक मन्दीका कारण गीत तथा भिडियोमा हुने लगानीसमेत उल्लेखनीय रूपमा घटेको उनी बताउँछन्।

संगीतकार तथा एरेन्जर राकेश सोनीले पनि सिर्जनाको गति आधाभन्दा बढी घटेको अनुभव सुनाए। उनका अनुसार अडियो–भिडियो निर्माणको लागत बढिरहे पनि डिजिटल आम्दानी घटेकाले लगानीकर्ता नयाँ परियोजनामा हात हाल्न हिच्किचाइरहेका छन्। अहिले सीमित चर्चित कलाकारका गीत मात्र नियमित रूपमा सार्वजनिक भइरहेका छन्।

नेपालका प्रमुख डिजिटल वितरकहरूमध्ये एक ओएसआर डिजिटलका रूपेश खड्गीका अनुसार विगतको तुलनामा नयाँ गीतको रिलिज करिब ४० प्रतिशतले घटेको छ। उनले दर्शकको ध्यान युट्युबबाट टिकटक, फेसबुक रिल्स र युट्युब शर्ट्सतर्फ सरेको तथा युट्युबको विज्ञापन र पहुँचसम्बन्धी नीति कडा बन्दै गएको कारण संगीत बजार प्रभावित भएको बताए।

खड्गीका अनुसार नेपाली गीत–संगीतमा विदेशमा रहेका नेपाली स्रष्टा र लगानीकर्ताको ठूलो योगदान रहने गरेको थियो। तर लगानीको पारदर्शितामाथि प्रश्न उठेपछि बाह्य लगानी उल्लेखनीय रूपमा घटेको छ। यसले नयाँ गीत तथा भिडियो निर्माणमा प्रत्यक्ष असर पारेको उनको भनाइ छ।

संगीत क्षेत्रले अहिले कृत्रिम बुद्धिमत्ता (एआई) बाट थप चुनौती पनि सामना गरिरहेको छ। लोकगायक तथा सर्जक कस्तुप पन्तका अनुसार एआईमार्फत मौलिक सिर्जनाको अनधिकृत प्रयोग, पाइरेसी र बौद्धिक सम्पत्ति उल्लंघन बढ्दै जाँदा मूल स्रष्टा र लगानीकर्ता दुवै प्रभावित भएका छन्। उनले एआईको प्रयोगलाई व्यवस्थित गर्न स्पष्ट कानुनी र नीतिगत व्यवस्था आवश्यक रहेको बताए।

यद्यपि, रेकर्डिङ स्टुडियो सञ्चालक तथा संगीतकर्मी विपिन आचार्य भने एआईलाई चुनौतीसँगै अवसरका रूपमा पनि हेर्छन्। उनका अनुसार धेरै स्रष्टाले प्रारम्भिक कम्पोजिसन र ट्रयाक एआईमार्फत तयार पारेर स्टुडियोमा ल्याउने क्रम बढेको छ। यसले सिर्जना प्रक्रिया सहज बनाएको भए पनि संगीतको मौलिकता, गुणस्तर र व्यावसायिकताको भविष्यबारे नयाँ बहस सुरु गराएको उनको भनाइ छ।

संगीतकर्मीहरूको निष्कर्षमा नेपाली गीत–संगीत उद्योगलाई पुनः चलायमान बनाउन स्रष्टाको बौद्धिक सम्पत्ति संरक्षण, लगानीकर्ताको विश्वास पुनःस्थापना, डिजिटल आम्दानीको दिगो मोडल र एआईको जिम्मेवार प्रयोग सुनिश्चित गर्ने नीतिगत पहल अपरिहार्य बनेको छ।