पार्वती’को ‘नौतुना रेलैमा’मा टिकटक बनाएर जित्नुहोस् ५० हजार रुपैयाँ
नेपाली फिल्म ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शनमा आउँदैछ। रिलिजअघि नै फिल्मले दर्शकलाई आकर्षित गर्न ‘नौतुना रेलैमा’ गीतमार्फत विशेष टिकटक प्रतियोगिता घोषणा गरेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक टिकटक भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियोको रचनात्मकता र प्राप्त भ्युजका आधारमा उत्कृष्ट तीन जनालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट अन्य पाँच जनाले फिल्म ‘पार्वती’ हेर्न निःशुल्क टिकट पनि प्राप्त गर्नेछन्। सहभागीहरूले भिडियो पोस्ट गर्दा ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने निर्माण पक्षले जनाएको छ।
‘नौतुना रेलैमा’ गीतमा मुख्य अभिनेत्री नीता ढुङ्गानासँगै दीपाश्री निरौला, अञ्जली अधिकारी र सिरु विष्टको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोमा बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको पनि विशेष प्रस्तुति रहेको छ।
नीता फिल्म्सको ब्यानरमा बनेको ‘पार्वती’मा नीता ढुङ्गाना स्वयंको कथा, निर्देशन र मुख्य भूमिका रहेको छ। फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। हरिहर अधिकारी निर्माता, शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन्। छायांकन सुदीप बराल र नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।
फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ भने वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा गर्नेछन्। निर्माण पक्षले टिकटक प्रतियोगिताले फिल्मप्रति दर्शकको उत्साह अझ बढाउने विश्वास व्यक्त गरेको छ।


Tulac








