९ करोडभन्दा बढी कमाइपछि ‘लालीबजार’ टोलीको उत्सव, नयाँ फिल्म निर्माणको तयारी पनि सुरु

९ करोडभन्दा बढी कमाइपछि ‘लालीबजार’ टोलीको उत्सव, नयाँ फिल्म निर्माणको तयारी पनि सुरु
९ करोडभन्दा बढी कमाइपछि ‘लालीबजार’ टोलीको उत्सव, नयाँ फिल्म निर्माणको तयारी पनि सुरु

काठमाडौं /  घरेलु बक्स अफिसमा उल्लेखनीय व्यापार गर्न सफल नेपाली फिल्म ‘लालीबजार’ ले आफ्नो व्यवसायिक सफलताको खुसी निर्माण टिम, कलाकार र प्राविधिकसँग मनाएको छ। सफलताको अवसरमा आयोजित विशेष कार्यक्रममा फिल्म निर्माणमा योगदान पुर्‍याउने कलाकार तथा प्राविधिकलाई कदरपत्र प्रदान गर्दै टोलीले दर्शकप्रति आभार व्यक्त गरेको हो।

समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चैत्यदेवी सिंह, बसुन्धरा भुसाल, भुवन चन्द तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कलाकार र प्राविधिकलाई कदरपत्र प्रदान गरेका थिए।

कार्यकारी निर्माता प्रदीप भट्टराईले ‘लालीबजार’ ले आफूहरूलाई फिल्म निर्माण र प्रदर्शनको नयाँ अनुभव दिएको उल्लेख गर्दै दर्शकको साथकै कारण फिल्म सफल बनेको बताए। निर्माता म्याक्स दिपेश खत्री, कलाकार रविन्द्रसिंह बानियाँ, स्वस्तिमा खड्का, विशाल देवकोटालगायतले पनि दर्शकको मायाले नेपाली फिल्मप्रतिको विश्वास अझ बलियो बनेको प्रतिक्रिया दिए।

सफलताको खुसी साटासाट गर्दै निर्माण टोलीले केक काटेर सेलिब्रेसन गरेको थियो।

चलचित्र विकास बोर्डका अनुसार पछिल्लो शनिबारसम्म ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ९ करोड ३१ लाख ७७ हजार ६९० रुपैयाँ ग्रस कमाइसकेको छ। प्रदर्शन अधिकार तथा अन्य विभिन्न राइट बिक्रीबाट पनि फिल्मले १० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको निर्माण पक्षको दाबी छ। यससँगै ‘लालीबजार’ वर्ष २०८३ को सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मका रूपमा स्थापित भएको छ।

यसैबीच, निर्माता खत्रीले आफ्नो ब्यानर षट्कोण आर्ट्सले नयाँ नेपाली फिल्म निर्माणको तयारी सुरु गरिसकेको जानकारी दिए। उनका अनुसार आगामी परियोजनाको स्क्रिप्ट लेखन कार्य भइरहेको छ।