राष्ट्रिय पुरस्कारको रकम रङ्गमञ्चलाई समर्पण गर्दै मिरुना मगरले देखाइन् आफ्नो कला–संस्कार

राष्ट्रिय पुरस्कारको रकम रङ्गमञ्चलाई समर्पण गर्दै मिरुना मगरले देखाइन् आफ्नो कला–संस्कार
राष्ट्रिय पुरस्कारको रकम रङ्गमञ्चलाई समर्पण गर्दै मिरुना मगरले देखाइन् आफ्नो कला–संस्कार

सुनसरी /  राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित अभिनेत्री मिरुना मगरले पुरस्कारसँगै प्राप्त नगद रकम आफ्नो कला यात्राको सुरुवाती आधार बनेको धरानस्थित अनाम रङ्गमञ्चलाई हस्तान्तरण गर्दै कलाकारले आफ्नो जरा कहिल्यै बिर्सनु हुँदैन भन्ने सन्देश दिएकी छन्।

फिल्म ‘उनको स्वीटर’ बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी मिरुनाले पुरस्कारस्वरूप प्राप्त २५ हजार रुपैयाँ निर्माणाधीन अनाम रङ्गमञ्चको कार्यालय भवन निर्माणका लागि ‘गुरुदक्षिणा’ स्वरूप सहयोग गरेकी हुन्।

अनाम रङ्गमञ्चकी आजीवन सदस्यसमेत रहेकी मिरुनाको कला यात्राको सुरुवात यही संस्थाबाट भएको हो। उनकी आमा तथा वरिष्ठ रङ्गकर्मी शशी थापा सुब्बा अनामकी संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार हुन्। आफूले राष्ट्रिय स्तरमा हासिल गरेको सम्मानलाई आफ्नै कला–घरप्रतिको कृतज्ञतासँग जोड्दै मिरुनाले सहयोग गरेकी हुन्।

अनाम रङ्गमञ्चका अध्यक्ष विजय संयोक सुब्बाले मिरुनाको योगदानलाई कलाकारका लागि अनुकरणीय उदाहरणको रूपमा व्याख्या गरे। उनका अनुसार सफलता प्राप्त गरेपछि आफ्नो आधारभूमि सम्झिने संस्कारले कला क्षेत्रलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले मिरुनाको सहयोगले निर्माणाधीन कार्यालय भवनलाई मात्र होइन, सम्पूर्ण रङ्गकर्मीलाई थप ऊर्जा दिएको बताए।

तीन दशकअघि स्थापना भएको अनाम रङ्गमञ्च पूर्वी नेपालको भाषा, कला, संस्कृति र रङ्गकर्मको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय संस्था हो। धरानमा २००४ सालदेखि सुरु भएको नाट्य परम्परालाई निरन्तरता दिँदै आएको यस संस्थाले सयौं कलाकार उत्पादन गरेको छ।

धरान–१३ को राईटोलमा निर्माणाधीन अनाम रङ्गमञ्च भवनका लागि विभिन्न निकायबाट समेत सहयोग जुटिरहेको छ। धरान–१३ वडा कार्यालयले तीन लाख रुपैयाँ, धरान–७ वडा कार्यालयले शौचालय निर्माणका लागि ६० हजार रुपैयाँ तथा धरान उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि दुई लाख २८ हजार रुपैयाँ विनियोजन गरेको अध्यक्ष सुब्बाले जानकारी दिए।

मिरुना मगरको यो सहयोगले राष्ट्रिय पुरस्कारको सम्मानलाई व्यक्तिगत उपलब्धिमा सीमित नराखी कला संस्था र आगामी पुस्ताका कलाकारप्रतिको उत्तरदायित्वसँग जोडेको भन्दै रङ्गकर्मीहरूले उनको कदमको प्रशंसा गरेका छन्।