विवाहित महिलाको क्षमता र उद्यमशीलता प्रवर्द्धन गर्ने अभियानका रूपमा ‘मिसेस पूर्वेली आइकन–३’ सुरु
सुनसरी / विवाहपछि महिलाको भूमिका घरपरिवारमा मात्र सीमित हुन्छ भन्ने परम्परागत सोचलाई चुनौती दिँदै विवाहित महिलाको क्षमता, आत्मविश्वास र उद्यमशीलतालाई उजागर गर्ने उद्देश्यसहित ‘मिसेस पूर्वेली आइकन–सिजन ३’ सार्वजनिक गरिएको छ।
ओपन स्पेस प्रालिले आयोजना गर्दै आएको प्रतियोगिताको तेस्रो संस्करणलाई यसपटक सौन्दर्य प्रतियोगिताभन्दा पनि महिला सशक्तीकरण र उद्यमशीलताको अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। अघिल्ला दुई संस्करणमा इटहरीमा मात्र अडिसन सञ्चालन गरिएको भए पनि यसपटक धरानलाई पनि समेटेर प्रतियोगिताको पहुँच विस्तार गरिएको छ।
२० देखि ५० वर्ष उमेर समूहका विवाहित महिलाले सहभागिता जनाउन सक्ने प्रतियोगिताले उनीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास, आत्मविश्वास र सामाजिक पहिचान निर्माणमा सहयोग पुर्याउने विश्वास आयोजकको छ।
इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठका अनुसार प्रतियोगिताको उद्देश्य केवल ताज जिताउनु नभई विवाहपछि पनि महिलाले आफ्नो सपना पूरा गर्न सक्छन् भन्ने सन्देश दिनु हो। "मिसेस पूर्वेली आइकन विवाहित महिलाको प्रतिभा, आत्मविश्वास र पहिचान उजागर गर्ने अभियान हो। विवाह जीवनको अन्त्य होइन, नयाँ सम्भावनाको सुरुवात हो," उनले भने।
आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सजिना श्रेष्ठले प्रतियोगितामार्फत सहभागीलाई फोटोसुट, भिडियोसुट, व्यक्तित्व विकास र प्रचारात्मक कार्यक्रममार्फत आत्मनिर्भर बन्न प्रेरित गरिने बताइन्। उनका अनुसार प्रतियोगिताले महिलालाई उद्यमशीलता, नेतृत्व र सामाजिक सहभागितातर्फ पनि उत्प्रेरित गर्नेछ।
प्रतियोगिताका सहभागीलाई कोरियोग्राफर सुभेक्षा कार्कीले प्रशिक्षण दिनेछिन्। विजेताले एक लाख रुपैयाँ बराबरको पुरस्कारसहित विभिन्न आकर्षक अवसर र सम्मान प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत संस्करणमा इटहरीकी मेघा खड्काले उपाधि जितेकी थिइन् भने कबिना पोखरेल, उर्मिला मगर, सिता पुरी र रईशा चौधरीले विभिन्न विधाका उपाधि हासिल गरेका थिए।
आयोजकका अनुसार ‘मिसेस पूर्वेली आइकन’ विवाहित महिलालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, नयाँ पहिचान बनाउने र समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्ने साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताको अडिसन मिति र स्थानबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने जनाइएको छ।


Tulac








