खस सभ्यताको गुमनाम इतिहास उजागर गर्ने ‘पैकेलो’ ओम रिजालको उपन्यासले खोज्यो खप्तडी, खुलाल र सिँजापति पैकेलाहरूको वीरगाथा

खस सभ्यताको गुमनाम इतिहास उजागर गर्ने ‘पैकेलो’ ओम रिजालको उपन्यासले खोज्यो खप्तडी, खुलाल र सिँजापति पैकेलाहरूको वीरगाथा

नेपालको इतिहास प्रायः राजा–महाराजाको प्रशस्तिमा सीमित रहँदा खप्तडी, खुलाल, श्रीपाली, कालीकोटे र सिँजापति पैकेलाजस्ता खस पञ्चमूल समुदायको इतिहास भने ओझेलमै रह्यो। यही गुमनाम इतिहासलाई साहित्यिक रूप दिएर लेखक ओम रिजाल ले आफ्नो नवीन उपन्यास पैकेलो मार्फत खस सभ्यता, संस्कृति र वीरगाथाको पुनः खोजी गरेका छन्।

यात्राविम्ब, रूँदै बग्दो छ मुगु कर्णाली र हटारु हुँदै आएका रिजालले यसपटक इतिहास, लोकगाथा, पुरातत्त्व र कल्पनालाई एकै सूत्रमा बाँधेर खस समाजको मौलिक सांस्कृतिक चेतना उजागर गरेका छन्। उपन्यासले इतिहासमा नलेखिएका तर लोकस्मृतिमा जीवित वीर पैकेलाहरूको कथा प्रस्तुत गर्छ।

उपन्यासको केन्द्रमा दैलेख–दुल्लु क्षेत्रमा प्रचलित लोकगाथा बालाराजा काशीरामको भारतु छ। कथामा देउलीगढका वीर राजा काशीराम, उनका पैकेला योद्धा, प्रेमिका चम्पामाला र खस सभ्यताको गौरवपूर्ण इतिहासलाई काव्यात्मक शैलीमा चित्रण गरिएको छ। लेखकले खस जातिको उत्पत्ति, पश्चिम नेपाल हुँदै फैलिएको सांस्कृतिक प्रवाह, किराँतसँगको सम्बन्ध र मौखिक इतिहासको महत्त्वमाथि पनि प्रश्न उठाएका छन्।

उपन्यासमा खस समाजको युद्धकला, घोडासेना, वीरता र आत्मसम्मानका प्रसंगलाई जीवन्त बनाइएको छ। “युद्धको घोडामा लगाम नलगाएसम्म मानव कल्याण र विश्व शान्ति सम्भव छैन” भन्ने सन्देशमार्फत लेखकले युद्ध, हिंसा र सत्ता अहङ्कारको आलोचना गरेका छन्।

लेखक रिजालका अनुसार खस सभ्यता केवल गरिबी, पछौटेपन वा अँध्यारोपनको कथा होइन, यो समृद्ध भाषा, संस्कृति, वीरता र सभ्यताको इतिहास पनि हो। उपन्यासले दुल्लु, सिँजा, कर्णाली र पश्चिम नेपालको मौखिक परम्परा, भडाहा, जागर, चैत र वीरगाथालाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ।

सबाल्टर्न चिन्तनको प्रभाव बोकेको पैकेलो साहित्यिक स्वादका साथै समाजशास्त्र, मानवशास्त्र र भाषाशास्त्रका लागि समेत महत्त्वपूर्ण सन्दर्भ सामग्री बनेको समीक्षकहरूको भनाइ छ। खस भाषाको व्यापक र कलात्मक प्रयोगले उपन्यासलाई अझ विशिष्ट बनाएको छ।

खस सभ्यताको गुमनाम इतिहासलाई साहित्यिक पुनर्जीवन दिने कृतिका रूपमा पैकेलो नेपाली साहित्यको महत्वपूर्ण उपलब्धि मानिएको छ।