सेलिब्रेटीको चमक र डिजाइनर सिर्जनाले झल्कियो ‘आईईसी डिजाइनर रनवे–१५
काठमाडौं । राजधानीको दरबारमार्ग शुक्रबार साँझ ग्ल्यामर, फेसन र सेलिब्रेटी उपस्थितिले झिलिमिली बन्यो । होटल याक एण्ड यतीमा आयोजित ‘आईईसी डिजाइनर रनवे–१५’ ले नेपाली फेसन उद्योगको बढ्दो व्यावसायिकता र सिर्जनात्मकतालाई भव्य रूपमा प्रस्तुत गरेको छ । चर्चित कलाकार, मोडल र डिजाइनरहरूको एकै मञ्चमा जमघट भएको कार्यक्रममा आकर्षक पहिरन, संगीत र र्याम्प प्रस्तुतीले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
आईईसी कलेजको आयोजनामा सम्पन्न फेसन शोमा नेपाली फिल्म तथा मोडलिङ क्षेत्रका चर्चित १८ सेलिब्रेटी र मोडल एउटै र्याम्पमा उत्रिएका थिए । अभिनेत्री शिल्पा मास्के, निती शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, कविता नेपाली, हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडेलगायत कलाकार तथा मोडलहरूले फेसनका नयाँ तथा आकर्षक डिजाइन प्रस्तुत गरेका थिए ।
सेलिब्रेटीहरू फरक–फरक शैलीका पहिरनमा र्याम्पमा उत्रिँदा दर्शकदीर्घाबाट लगातार ताली र सिटीको गुञ्जन सुनिएको थियो । आधुनिक फेसनसँग नेपालीपन मिसिएका डिजाइनहरूले कार्यक्रममा थप आकर्षण थपेका थिए । कतिपय डिजाइनहरूमा नेपाली कला, हस्तकला र सांस्कृतिक बुट्टाको प्रयोग गरिएको थियो भने केही पूर्ण रूपमा आधुनिक तथा अन्तर्राष्ट्रिय शैलीमा तयार पारिएका थिए ।
फेसन शोको अर्को विशेष पक्ष भनेको युवा डिजाइनरहरूको उल्लेखनीय सहभागिता रह्यो । कार्यक्रममा ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका विभिन्न फेसन डिजाइनहरू प्रदर्शन गरिएको थियो । ती पहिरनलाई ३० जना व्यवसायिक मोडलहरूले १७ फरक सिक्वेन्समार्फत र्याम्पमा प्रस्तुत गरेका थिए । प्रत्येक सिक्वेन्स फरक अवधारणा, रंग संयोजन र फेसन शैलीमा आधारित थियो, जसले दर्शकको ध्यान अन्तिमसम्म तानिराख्यो ।
कार्यक्रमस्थलको सजावट, लाइटिङ र साउन्ड व्यवस्थापनले फेसन शोलाई अझ भव्य बनाएको थियो । होटल याक एण्ड यतीको हललाई अन्तर्राष्ट्रिय स्तरको फेसन इभेन्टझैं सजाइएको थियो । फेसन पारखी, कलाकार, व्यवसायी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो ।
शोको कोरियोग्राफी भारतका चर्चित कोरियोग्राफर यतिन गान्धीले गरेका थिए । मोडलहरूको स्टेज प्रस्तुति, र्याम्प मुभमेन्ट र सिक्वेन्स व्यवस्थापनमा उनको अनुभव स्पष्ट रूपमा झल्किएको सहभागीहरूले बताएका थिए । कार्यक्रमको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको थियो ।
नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले अहिलेसम्मकै उत्कृष्ट फेसन शो व्यवस्थापन गर्न सफल भएको दाबी गरे । उनले नेपाली फेसन उद्योग अहिले नयाँ उचाइतर्फ अघि बढिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले डिजाइनर, मोडल र कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरणा दिने बताए ।
आयोजक आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन जगतलाई नयाँ उचाइ दिने र नेपाली डिजाइनरहरूको सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार फेसन शोले युवा डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गरेको छ ।
उनले कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिताले आफूहरू थप उत्साहित भएको बताउँदै आगामी दिनमा पनि यस्ता भव्य फेसन शोले निरन्तरता पाउने जानकारी दिइन् । “नेपाली फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो प्रयास आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नेछ,” उनले भनिन् ।
कार्यक्रममा सहभागी अधिकांशले ‘आईईसी डिजाइनर रनवे–१५’लाई नेपालमा हालसम्म आयोजना भएका भव्य फेसन शोहरूमध्ये एकको रूपमा प्रतिक्रिया दिएका थिए । नेपाली फेसन उद्योगको विस्तार, सिर्जनशीलता र व्यावसायिक प्रस्तुतिको दृष्टिले कार्यक्रमलाई महत्वपूर्ण उपलब्धिका रूपमा समेत हेरिएको छ ।


Tulac 







