ग्ल्यामर, सिर्जना र सेलिब्रेटी चमकले दरबारमार्ग झिलिमिली स् ‘आईईसी डिजाइनर रनवे–१४’ भव्य रूपमा सम्पन्न

ग्ल्यामर, सिर्जना र सेलिब्रेटी चमकले दरबारमार्ग झिलिमिली स् ‘आईईसी डिजाइनर रनवे–१४’ भव्य रूपमा सम्पन्न
ग्ल्यामर, सिर्जना र सेलिब्रेटी चमकले दरबारमार्ग झिलिमिली स् ‘आईईसी डिजाइनर रनवे–१४’ भव्य रूपमा सम्पन्न

सुनसरी । राजधानीको दरबारमार्ग शुक्रबार साँझ असाधारण रूपमा चम्कियो । फेसन, ग्ल्यामर, कला र सेलिब्रेटी उपस्थितिले भरिएको ‘आईईसी डिजाइनर रनवे–१४’ ले होटल याक एण्ड यतीलाई केही घण्टाका लागि नेपाली फेसन उद्योगको केन्द्रबिन्दु बनायो । आईईसी कलेजको आयोजनामा सम्पन्न उक्त भव्य फेसन शोमा नेपाली चलचित्र, मोडलिङ र फेसन जगतका चर्चित अनुहारहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

कार्यक्रम सुरु हुनुअघि नै होटल परिसरमा दर्शक, फेसन पारखी, कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । आकर्षक लाइटिङ, संगीत र आधुनिक सेट डिजाइनले कार्यक्रमस्थललाई अन्तर्राष्ट्रिय स्तरको फेसन शोको झल्को दिएको थियो । र्याम्प वरिपरि दर्शकहरूको उत्साहपूर्ण उपस्थितिले कार्यक्रम सुरु हुनुअघि नै माहोल तातेको थियो ।

शोमा नेपाली फिल्म तथा मोडलिङ क्षेत्रका १८ चर्चित कलाकार तथा मोडल एउटै र्याम्पमा प्रस्तुत भएका थिए । अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, शिल्पा मास्के, निती शाह, अस्मी श्रेष्ठ, आना शर्मा, मलिका महत, कविता नेपाली, श्रीच्छा प्रधान, आस्था पोखरेल, इभा गिरी, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडेलगायतका चर्चित अनुहारहरूले आकर्षक तथा सिर्जनात्मक डिजाइनका पहिरनमा र्याम्पमा उत्रिँदा दर्शकदीर्घा ताली र उत्साहले गुञ्जिएको थियो ।

हरेक कलाकार फरक शैली, आत्मविश्वास र प्रस्तुतीका साथ र्याम्पमा देखिएका थिए । कसैले आधुनिक वेस्टर्न डिजाइन प्रस्तुत गरे भने कसैले नेपाली मौलिकता झल्किने पहिरनलाई नयाँ ढंगले प्रदर्शन गरे । फेसन र नेपाली सांस्कृतिक सौन्दर्यको संयोजनले कार्यक्रममा थप आकर्षण थपेको थियो ।

कार्यक्रमको अर्को विशेष पक्ष भनेको युवा तथा सिर्जनशील डिजाइनरहरूको उल्लेखनीय सहभागिता रह्यो । शोमा ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएको थियो । ती डिजाइनहरूलाई ३० जना व्यवसायिक मोडलहरूले १७ फरक सिक्वेन्समार्फत र्याम्पमा प्रस्तुत गरेका थिए । प्रत्येक सिक्वेन्स फरक अवधारणा, रंग संयोजन र फेसन शैलीमा आधारित थियो, जसले दर्शकलाई निरन्तर उत्साहित बनाइराख्यो ।

डिजाइनहरूमा आधुनिक फेसन ट्रेन्डसँगै नेपाली कला, परम्परा र हस्तकलाको प्रभाव पनि स्पष्ट देखिन्थ्यो । कतिपय पहिरनमा नेपाली ढाका, हस्तनिर्मित बुट्टा तथा सांस्कृतिक आकृतिहरूको प्रयोग गरिएको थियो भने केही डिजाइन पूर्ण रूपमा आधुनिक र प्रयोगात्मक शैलीमा तयार पारिएका थिए ।

कार्यक्रमको कोरियोग्राफी भारतीय चर्चित कोरियोग्राफर यतिन गान्धीले गरेका थिए । मोडलहरूको प्रस्तुति, स्टेज मुभमेन्ट तथा सिक्वेन्स व्यवस्थापनमा उनको अनुभव स्पष्ट रूपमा झल्किएको थियो । शोको व्यवस्थापन नेक्स्ट मोडल नेपालले गरेको थियो । व्यवस्थित प्रस्तुति, समय व्यवस्थापन र प्राविधिक पक्षले कार्यक्रमलाई थप व्यावसायिक बनाएको सहभागीहरूले बताएका थिए ।

फेसन शोमा सहभागी कलाकार, डिजाइनर तथा दर्शकहरूले ‘आईईसी डिजाइनर रनवे–१४’ लाई नेपालमा हालसम्म आयोजना भएका भव्य फेसन कार्यक्रमहरूमध्ये एकको रूपमा टिप्पणी गरेका थिए । धेरैले नेपाली फेसन उद्योग अन्तर्राष्ट्रिय स्तरतर्फ अघि बढिरहेको संकेतका रूपमा पनि कार्यक्रमलाई व्याख्या गरेका थिए ।

कार्यक्रमले नेपाली फेसन उद्योगमा नयाँ पुस्ताका डिजाइनर, मोडल र कलाकारलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकको भनाइ थियो । साथै, फेसनलाई केवल पहिरनको प्रदर्शन नभई सिर्जना, कला र सांस्कृतिक अभिव्यक्तिको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

‘आईईसी डिजाइनर रनवे–१४’ ले नेपाली फेसन उद्योगको बढ्दो व्यावसायिकता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति क्षमतालाई पुनः स्थापित गरेको सहभागीहरूको प्रतिक्रिया थियो ।