रोल नं १’ को ट्रेलरले बढायो उत्साह, शिक्षाप्रणाली र बालमनोविज्ञानको कथा लिएर दर्शकमाझ आउँदै फिल्म
सुनसरी । ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगी निर्माण टिमको नयाँ प्रस्तुति रोल नं १ सुरुवातदेखि नै चर्चामा रहँदै आएको छ । हालै सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकमाझ थप उत्साह र चासो सिर्जना गरेको छ । ट्रेलर सार्वजनिक भएको तीन घण्टा नपुग्दै युट्युबको ‘मुभी ट्रेण्डिङ’ चार्टमा स्थान बनाउन सफल भएको फिल्म अहिले तीव्र गतिमा चर्चामा उक्लिरहेको छ । समाचार तयार पार्दासम्म ट्रेलर ट्रेण्डिङको १२औँ स्थानमा पुगेको थियो भने भ्युज, कमेन्ट र शेयरको रफ्तार पनि उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ ।
पूर्ण बहादुरको सारंगी ले दर्शकमाझ बनाएको विश्वास र सफलताको निरन्तरता यो फिल्मले कायम राख्न सक्छ वा सक्दैन भन्ने जिज्ञासा अहिले फिल्मवृत्तमा व्यापक रूपमा उठिरहेको छ । यद्यपि यसको वास्तविक उत्तर भने फिल्म प्रदर्शनपछि मात्रै स्पष्ट हुनेछ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले अहिलेको शिक्षाप्रणाली, गरिबी, अभिभावकीय अपेक्षा र बालबालिकामाथि पर्ने मानसिक दबाबलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।
ट्रेलरमा पढाइमा अब्बल बन्नुपर्ने सामाजिक दबाब, गाउँमा प्रतिष्ठा कमाउने अभिभावकको सपना र आफ्नै रुचिबीच अल्झिएको बालमनको संघर्षलाई केन्द्रमा राखिएको छ । बाबुले आफ्नो छोरा राम्रो पढेर सफल बनोस् भन्ने चाहना राखेका छन्, तर छोराको सपना भने फरक दिशामा मोडिएको देखिन्छ । परिवारको अपेक्षा पूरा गर्न खोज्दा पनि रुचि नभएका कारण असफल हुनुपर्ने अवस्थाले बालमनोविज्ञानभित्रको द्वन्द्वलाई प्रभावशाली रूपमा चित्रण गरेको छ ।
गरिब विद्यार्थीले छात्रवृत्तिबाट समेत वञ्चित हुनुपर्ने पीडा, ‘पहिलो हुने’लाई मात्रै सम्मान गर्ने सामाजिक सोच र घोकन्ते शिक्षाप्रणालीले बालबालिकाको मानसिक अवस्थामाथि पार्ने असरलाई ट्रेलरले मार्मिक रूपमा उजागर गरेको छ । निर्देशक जोन योञ्जन ले बाबु–छोराको सम्बन्धमार्फत समाज र अभिभावकले बालबालिकामाथि थोपर्ने अपेक्षाले उनीहरूको भविष्य र मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई संवेदनशील ढंगले प्रस्तुत गरेका छन् ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन् । ट्रेलरमा कलाकारहरूको अभिनय स्वाभाविक र प्रभावशाली देखिएको प्रतिक्रिया दर्शकबाट आउन थालेको छ ।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन् । महेश दवाडी ले कथा लेखेका हुन् । डीओपी शिवराम श्रेष्ठ, संगीतकार प्रशान्त शिवाकोटी, ब्याकग्राउन्ड स्कोरमा रोहित शाक्य, चिफ एडीका रूपमा फिरोज खड्का, प्रोडक्सन डिजाइनमा कला संग्रौला तथा प्रोडक्सन हेडमा मनोज जोशी रहेका छन् । सम्पादन मदन घिमिरेले गरेका हुन् ।
निर्माता पौडेलका अनुसार फिल्मले विद्यार्थीको मनोविज्ञान, वर्तमान शिक्षाप्रणालीले बालबालिकामाथि पार्ने नकारात्मक असर र त्यसले भविष्यमा पार्न सक्ने प्रभावलाई मुख्य विषयवस्तु बनाएको छ । फिल्म यही जेठ १५ गते नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुँदैछ । यसको वितरणको जिम्मेवारी रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन् ।


Tulac 






