विजय बरालको ‘जनै हराएको मान्छे’को टिजर ट्रेन्डिङमा

विजय बरालको ‘जनै हराएको मान्छे’को टिजर ट्रेन्डिङमा

इटहरी/ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालको प्रमुख भूमिकामा पुनरागमन रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजरले रिलिजपूर्वै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । यही भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको आधिकारिक टिजर युट्युबको ट्रेन्डिङ सूचीमा उक्लँदै चौथो स्थानमा पुगेको छ । गत मंगलबार सार्वजनिक गरिएको टिजरले छोटो समयमै १३ लाख ६ हजारभन्दा बढी भ्युज बटुल्न सफल भएको छ ।

यस्तै ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरेको छ । सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्न सफल यस टिजरले दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रिया प्रमाणित गरिदिएको छ । टिजरप्रति युट्युब कमेन्टहरूमा दर्शकहरूले खुलेर प्रशंसा व्यक्त गरिरहेका छन् । विशेषतः विजय बरालको दमदार अभिनय, कथाको मौलिकता र सामाजिक सन्देशप्रति दर्शकहरू प्रभावित देखिएका छन् । हेर्नुस् टिजर  ।


टिजरले कोरियामा रोजगारीको सपना बोकेर सहर पसेको एक गाउँले युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गर्छ ।

 निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्ममा विजय बरालसँगै अभिनेत्री केकी अधिकारी र मिरुना मगर प्रमुख भूमिकामा देखिएका छन् ।

 टिजरमा त्रिकोणात्मक प्रेम, पारिवारिक द्वन्द्व, आप्रवासनको चुनौती र नेपाली युवाको आत्मसंघर्षलाई गहिरो भावनात्मक पाटोसहित देखाइएको छ ।


फिल्ममा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।