अस्तित्वको खोजीमा नाटक ‘चन्द्रलाई कसले मार्यो?’

इटहरी/ “जब समाजले नाम र लिङ्ग तोकिदिन्छ, अनि प्रश्न जन्मिन्छ-म साँच्चै को हुँ?” यस्तै आत्मसन्देह र अस्वीकृतिको बीच आफूलाई दिनहुँ खोजिरहन्छ एक पात्र चन्द्रले । यही प्रश्न र संघर्षको भित्री यात्रा बोकेको नाटक ‘चन्द्रलाई कसले मार्यो ?’ गएको असार २५ गतेदेखि उत्साहका साथ मण्डला थिएटरमा मञ्चन हुदै आएको छ ।रंगकर्मी सन्दीप श्रेष्ठको लेखन, निर्देशन र परिकल्पनामा तयार भएको यस नाटकले एलजीबीटीक्विआई समुदायको जीवनमा गुज्रिने आत्म-संघर्ष, सामाजिक तिरस्कार, डिप्रेसन र आत्महत्या जस्ता गहिरा विषयलाई केन्द्रमा राखेको उत्त नाटक मञ्चन हुदै आएको हो ।
‘चन्द्र’ नामको पात्रको दृष्टिबाट समाज र सम्बन्धहरूलाई हेर्ने प्रयास नाटकको मूल आत्मा बनेको देखिन्छ ।बदलिँदो सम्बन्धको बनोट, अस्वीकृत पहिचानसँगको द्वन्द्व र आफूभित्रको अस्तित्व खोज्ने असहज यात्रा नाटकलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । भावना उप्रेती, सीता देवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईंले संवेदनशील चरित्रहरूलाई जीवन्त अभिनयद्वारा कलाकारहरुले उत्त नाटक प्रस्तुत गरेका छन् ।
यही साउन १८ गतेसम्म चल्ने यो नाटक सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे तथा शनिबार दिउँसो १:३० बजे अतिरिक्त शोका साथ नाटक ‘चन्द्रलाई कसले मार्यो ?’ मञ्चन भइरहेको छ ।यो नाटक केवल नाटक मात्र होइन, यो एक समुदायको मौन कथा संगै बोल्न नसकेको चिच्याहट र अस्तित्व खोजीको पनि सशक्त अभिव्यक्ति हो ।