‘काजी’मा वर्षा नहुने, विपिन र केकीको जोडी बाँधिँदै

‘काजी’मा वर्षा नहुने, विपिन र केकीको जोडी बाँधिँदै

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै २०८० सालमा घोषणा गरिएको फिल्म हो, ‘काजी’ । लक्ष्मण रिजालले निर्देशन गर्ने भनिएको यो फिल्मको २०८१ सालको बैशाख १ गतेलाई प्रदर्शन मिति समेत तय गरिएको थियो  । तर, घोषणाको दुई वर्ष बढी भइसक्दा पनि फिल्म निर्माण हुन सकेको छैन । अब भने यो फिल्म बन्ने निश्चित देखिएको छ ।

निर्देशक रिजालले आगामी भदौबाट ‘काजी’को छायांकन सुरु गर्ने तयारी गरेका छन् । यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको फिल्ममा अभिनेत्री भने हेरफेर भएका छन् । वर्षाको ठाउँमा निर्माण टिमले अभिनेत्री केकी अधिकारीलाई अनुबन्धित गरिसकेको स्रोतले बताएको छ । फिल्ममा केकीको जोडी विपिनसँग बाँधिनेछ । यसअघि फिल्म ‘प्रसाद २’मा उनीहरुले सहकार्य गरेका थिए ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्न लागेको ‘काजी’का निर्माता रामप्रसाद रिजाल हुन् । यो ब्यानरबाट ‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘कायरा’ जस्ता फिल्म बनिसकेका छन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन रहेको छ । पहिला यो फिल्मको स्क्रिप्टमा भारद्वाज आफैंले फिल्म निर्देशन गर्न लागेका थिए । तर, त्यो फिल्म नबन्ने भएपछि उनले ‘काजी’ टिमलाई स्क्रिप्ट दिएको बताइन्छ ।