फिल्म ‘जनै हराएको मान्छे’बाट प्लेब्याक गायनमा प्रोसेस पाण्डेको डेब्यु
इटहरी/ स्वरको यात्राबाट लोकप्रियता कमाएका ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोसेस पाण्डे अब नेपाली फिल्म संगीतमा पनि प्रवेश गरेका छन् । आउँदो भदौ ६ गतेबाट सार्वजनीक प्रदर्शनमा आउने बहुप्रतीक्षित फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बाट उनले प्लेब्याक गायनमा डेब्यु गर्ने तयारी गरेका हुन् । मंगलबार सार्वजनिक गरिएको टिजरसँगै पाण्डेले यही फिल्मबाट प्लेब्याक गायनमा डेब्यु गरेका जानकारी फिल्म निर्माण युनिटले सार्वजनीक गरेको हो ।
उनले गाउने गीतमा अर्जुन पोखरेलको संगीत समावेस हुनेछ । सार्वजनीक फिल्मको टिजरले गाउँको धार्मिक परिवारमा जन्मिएर कोरिया जान सपना देख्ने एक युवाको संघर्ष, प्रेम र पारिवारिक द्वन्द्वको संवेदनशील चित्र कोरेको छ । अभिनेता विजय बरालले बुवाको इच्छाविपरीत आफ्नो बाटो रोज्ने गाउँले युवाको भूमिकामा अभिनय गरेका छन् । टिजरमा केकी अधिकारी र मिरुना मगरसँगको त्रिकोणात्मक कथा झल्किएको छ भने दिदीप्रति जोडिएको सम्बन्धको भावुक पक्षलाई पनि समेटिएको छ ।
फिल्ममा गौरव पहारी, सुषांक मैनाली, भोलाराज सापकोटा, रियार राई र भावना खापांगी मगरको समेत अभिनय रहेको छ । हिमाल न्यौपानेको निर्देशनमा बनेको यो फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । ‘पेपरक्लिप’ ब्यानरअन्तर्गत निर्मित फिल्मका निर्माता कमल न्यौपाने र बिमल न्यौपाने हुन् । कार्यकारी निर्माताहरूमा नारायण तिमिल्सिना, चूडामणि सिवाकोटी, आर.के. मानन्धर, सी.आर. बस्नेत, फिलिप डि.सी. र जेम्स महार्जन रहेका छन् ।












