दशैँलाई टक्कर दिँदै ‘फागुन १’ को फिल्मी भिडन्त, यी ४ मध्ये कस्ले मार्ला बाजी ?

दशैँलाई टक्कर दिँदै ‘फागुन १’ को फिल्मी भिडन्त, यी ४ मध्ये कस्ले मार्ला बाजी ?

इटहरी/ यसवर्षको फागुन १ गते फिल्मी बजारमा रोचक भिडन्त देखिने भएको छ, जुन भिडन्त दशैं तिहारको भन्दा हेर्न लायक बनेको छ । यो मितिमा एकसाथ चारवटा फिल्म प्रदर्शनमा आउने पक्का भएको छ । हालै फिल्म “जहाजैमा” ले पनि यो मिति लक गरेपछि फागुन १ को रिलिज संख्या ४ पुगेको हो । यसअघि “कल्ली”, “लाली बजार” र “डबल ट्रिपल” ले यो मिति तय गरिसकेको थियो । यी ४ फिल्म मध्ये छायांकन सम्पन्न भएको फिल्म भने कल्ली मात्रै हो ।

१) जहाजैमा:
जहाजैमा लाई कृषा चौलागाईं ले निर्देशन गर्दैछिन् । फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् । फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । यो फिल्म भदौबाट छायांकन मा जाने बताईएको छ ।

२) डबल ट्रिपल:
‘डबल ट्रिपल’लाई निर्देशक अशोक शर्मा निर्देशन गर्नेछन् । यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकि अधिकारी, मिरुना मगर, राजाराम पौडेल, बुद्धि तामाङ, माओत्शे गुरुङ, विल्सन बिक्रम राई, सुरवीर पन्डित लगायतका कलाकारहरुको अभिनय रहनेछ बताइएको छ । यतिबेला निर्माण युनिटले लोकेशन हन्टिङको कार्य सम्पन्न गरेको छ । अशोक शर्माले “दसैंमा धेरै फिल्महरु आउने भो भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि safe होस भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही एक इन्च सर्न पनि तैयार भएनन त्यसैले डबल ट्रीपल अब २०८२ फागुन १ गते” भन्दै फिल्म सारेका थिए । तर यो डेटमा पनि उनी नमज्जाले चेपिएका छन् ।

३) लाली बजार:
षट्कोण आर्ट्स को व्यानरमा निर्माण हुने ‘लाली बजार’ पहिलो पोष्टर बाटै चर्चामा छ । स्वस्तिमा खड्कालाई केन्द्रमा राखेर केहीअघि एक पोष्टर सार्वजनीक गर्दै यो फिल्मले पनि फागुन १ लाई प्रदर्शन मिति लक गरेको थियो । यो फिल्म निर्माण कम्पनी ‘जात्रा’ शृङ्खलाले स्थापित ब्यानर हो । यसलाई यम थापाले निर्देशन गर्दै छन् भने निर्मातामा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेस खत्री रहेका छन् । प्रदीप भट्टराई कार्यकारी निर्माता हुन् । यसको हाल प्री प्रोडक्सनको काम धमाधम चलिरहेको छ ।

४) कल्ली:
यता ‘कल्ली’ को चर्चा पनि कम छैन । अभिनेता पल शाहलाई अनुबन्ध गरेदेखि निकालेका सम्मको कुराले यो फिल्म चर्चाको केन्द्रमा छ । छायांकन सम्पन्न भइसकेर प्रोडक्सनमा रहेको यो फिल्मले पनि फागुन १ गरेको रोजेको छ । यो फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतको अभिनय रहेको छ भने यसको प्रस्तुतकर्ता किरण नेपाली हुन । हालै को जानकारी अनुसार यो फिल्म नेपाल, भारत र पाकिस्तान मा एकसाथ प्रदर्शनमा आउँदैछ । यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा तयार गरिएको निर्माण युनिटले जनाएको छ । यसको लेखक तथा निर्देशक लक्ष्मण सुनार हुन ।

यी चारवटा फिल्म एकैपटक प्रदर्शनमा आउन लागेपछि फिल्म हलमा दर्शकको आकर्षण कुन फिल्म तर्फ जान्छ भन्ने विषयमा चासो बढेको छ । एकातिर स्टार कलाकार र चर्चित निर्देशकहरूका फिल्म छन् । दशैं र तिहारको भन्दा ठूलो भिडन्तका रूपमा हेरिएको फागुन १ ले नेपाली फिल्म उद्योगमा आर्थिक र दर्शकीय प्रतिसादका हिसाबले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

निर्माता र वितरकहरूले आफ्नो फिल्मलाई अग्रता दिलाउन विभिन्न प्रचार–प्रसार अभियान सञ्चालन गरिरहेका छन् । सामाजिक सञ्जालमा फिल्मका पोस्टर, मिडियामा समाचार लगायतका प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ ।फागुन १ मा दर्शकको रोजाइ कुन फिल्ममा पर्छ भन्नेबारे अहिले नै केही भन्न सकिने अवस्था छैन, तर नेपाली फिल्म क्षेत्रका लागि यो मिति निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने निश्चित देखिन्छ ।