राम नाम सत्य’पछि माइकल चन्दको नयाँ यात्रा : प्रेमकथामा आधारित ‘हेराई’ निर्माण हुँदै

राम नाम सत्य’पछि माइकल चन्दको नयाँ यात्रा : प्रेमकथामा आधारित ‘हेराई’ निर्माण हुँदै
राम नाम सत्य’पछि माइकल चन्दको नयाँ यात्रा : प्रेमकथामा आधारित ‘हेराई’ निर्माण हुँदै

सुनसरी । एक्सन जनराको फिल्म ‘राम नाम सत्य’बाट दर्शक तथा बजारमा उल्लेखनीय चर्चा कमाएका निर्देशक माइकल चन्द अब पूर्ण रूपमा फरक शैलीको कथासहित नयाँ फिल्म लिएर आउने भएका छन् । गतवर्ष प्रदर्शनमा आएको ‘राम नाम सत्य’ले नेपाली बक्स अफिसमा करिब साढे ३ करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्शन गर्न सफल भएपछि उत्साहित बनेका निर्देशक चन्दले आफ्नो नयाँ प्रोजेक्टका रूपमा प्रेमकथामा आधारित फिल्म ‘हेराई’ घोषणा गरेका हुन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्म अहिले प्रि–प्रोडक्सन चरणमा रहेको निर्माण टिमले जनाएको छ । कथा विकास, प्राविधिक तयारी, लोकेशन छनोट तथा कलाकार चयनको प्रारम्भिक काम तीव्र रूपमा अघि बढिरहेको बताइएको छ । निर्माण पक्षले केही महिनाभित्रै फिल्मको औपचारिक छायांकन सुरु गर्ने तयारी गरेको छ ।

‘एक हेराई अनेक बुझाई’ ट्यागलाइन राखिएको फिल्म ‘हेराई’ले प्रेम, भावना र मानिसको फरक दृष्टिकोणलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने निर्देशक माइकल चन्दले बताएका छन् । उनका अनुसार एउटै घटना वा सम्बन्धलाई फरक व्यक्तिले फरक तरिकाले बुझ्ने र व्याख्या गर्ने मनोविज्ञानलाई फिल्ममा गहिराइका साथ प्रस्तुत गरिनेछ ।

निर्देशक चन्दले यसपटक आफूले दर्शकलाई भावनात्मक रूपमा जोड्ने कथा रोजेको बताए । “अहिलेसम्म दर्शकले मलाई एक्सन जनरामा बढी चिनेका छन्, तर यसपटक हामी पूर्ण रूपमा लभ स्टोरीमा काम गरिरहेका छौं,” उनले भने, “मानिसअनुसार हेराइ फरक हुन्छ, त्यही फरक दृष्टिकोण र बुझाइले सम्बन्धमा पार्ने प्रभावलाई फिल्मले देखाउनेछ ।”

उनका अनुसार ‘हेराई’ केवल प्रेमकथा मात्र नभई मानिसको सोच, अनुभूति र सम्बन्धभित्रको मनोवैज्ञानिक पक्षलाई समेत समेट्ने प्रयास हुनेछ । आधुनिक पुस्ताको प्रेम, विश्वास, भ्रम र सम्बन्धमा आउने उतारचढावलाई कथामा यथार्थपरक ढंगले प्रस्तुत गरिने उनले बताए ।

फिल्मका कलाकार भने अझै टुंगो लागिसकेका छैनन् । निर्माण पक्षले अहिले विभिन्न कलाकारसँग छलफल भइरहेको र चाँडै नै मुख्य कलाकारको औपचारिक घोषणा गरिने जनाएको छ । युवा पुस्तामाझ लोकप्रिय अनुहारलाई फिल्ममा समावेश गर्ने तयारी रहेको बुझिएको छ ।

फिल्मका निर्माता किशोर भट्ट, हेमन्त शाह र स्वेता विमली रहनेछन् भने राजेन्द्र भट्ट र अर्जुन सुनार सह–निर्माताको भूमिकामा छन् । निर्माण टिमले प्राविधिक रूपमा पनि फिल्मलाई उच्च स्तरमा तयार पार्ने योजना बनाएको जनाएको छ । छायांकन, संगीत, सिनेमाटोग्राफी तथा भिजुअल प्रस्तुतिमा विशेष ध्यान दिइने निर्माण पक्षको भनाइ छ ।

‘राम नाम सत्य’ले बक्स अफिसमा पाएको सफलतापछि माइकल चन्दमाथि दर्शकको अपेक्षा पनि बढेको छ । एक्सन जनरामा सफलता हात पारेपछि उनले अब प्रेमकथामा आधारित विषय रोज्नु नेपाली फिल्म क्षेत्रमा चासोका रूपमा हेरिएको छ । फिल्म वृत्तमा ‘हेराई’लाई माइकलको नयाँ प्रयोगका रूपमा पनि चर्चा गर्न थालिएको छ ।

निर्माण टिमले फिल्मलाई यही वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ । प्रेम, भावना र फरक दृष्टिकोणको कथालाई आधुनिक शैलीमा प्रस्तुत गर्ने तयारीसँगै ‘हेराई’ अहिलेबाटै दर्शकमाझ उत्सुकताको विषय बन्न थालेको छ ।