लोकदोहोरी क्षेत्रमा बढ्दो अश्लीलताप्रति प्रतिष्ठानको चिन्ता, सरकारसँग कारबाहीको माग
सुनसरी। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान ले डिजिटल माध्यम, दोहोरी साँझ तथा सार्वजनिक मेला–महोत्सवहरूमा बढ्दै गएको अश्लीलता, अपशब्द र सामाजिक विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । प्रतिष्ठानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लोक तथा दोहोरी गीतको मौलिकता, सामाजिक मर्यादा र सांस्कृतिक मूल्यलाई कमजोर बनाउने गतिविधि पछिल्लो समय तीव्र रूपमा बढिरहेको जनाएको हो ।
प्रतिष्ठानका अनुसार पछिल्ला दिनहरूमा डिजिटल प्लेटफर्ममा सञ्चालन हुने लाइभ दोहोरी कार्यक्रम, दोहोरी साँझ र विभिन्न मेला–महोत्सवका नाममा अश्लील संवाद, अमर्यादित प्रस्तुति तथा पारिवारिक वातावरण सुहाउँदैनन् भन्ने खालका गतिविधि बढ्दै गएका छन् । केवल भ्युज, चर्चा र सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले तयार पारिने यस्ता सामग्रीले समग्र लोक संगीत क्षेत्रको गरिमा र प्रतिष्ठामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिष्ठानले यस्ता गतिविधिले नेपाली मौलिक लोक संस्कृतिको पहिचानमाथि नकारात्मक असर पारिरहेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । विशेषगरी गृह मन्त्रालय र सम्बन्धित निकायलाई विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शिष्टाचारसम्बन्धी कानुनअनुसार निगरानी र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लाई पनि लोक संस्कृतिको संरक्षणका लागि स्पष्ट आचारसंहिता निर्माण गर्न, नियमित अनुगमन संयन्त्र लागू गर्न तथा सांस्कृतिक कार्यक्रमहरूलाई मर्यादित बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ । प्रतिष्ठानले मेला–महोत्सव आयोजक, दोहोरी साँझ सञ्चालक र कार्यक्रम व्यवस्थापकलाई कलाकारहरूको प्रस्तुति र प्रयोग हुने भाषाप्रति थप जिम्मेवार बन्न अपिल गरेको छ ।
विज्ञप्तिमा विकृति फैलाउने स्रष्टा, कलाकार, युट्युब च्यानल सञ्चालक, रेकर्डिङ स्टुडियो, दोहोरी साँझ सञ्चालक तथा महोत्सव आयोजकमाथि प्रशासनिक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ । साथै, प्रतिष्ठानसँग आबद्ध कलाकार र सर्जकलाई पनि सिर्जना तथा प्रस्तुतीकरणमा शालीनता, सभ्य भाषा र सामाजिक मर्यादालाई विशेष ध्यान दिन निर्देशन दिइएको छ ।
प्रतिष्ठानका महासचिव शिव हमाल र अध्यक्ष रीता थापामगर द्वारा हस्ताक्षरित विज्ञप्तिमा मौलिक लोक संस्कृतिको संरक्षणमा सञ्चारकर्मी, नागरिक समाज तथा आमदर्शकको समेत सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ ।
यसैबीच, कलाकारद्वय प्रकाश अधिकारी र कोपिल ले शुक्रबार प्रतिष्ठानसँग माफी मागेका छन् । गायक शिव हमाल ले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । प्रतिष्ठानले आगामी दिनमा लोकदोहोरी क्षेत्रलाई मर्यादित, सभ्य र सांस्कृतिक मूल्यअनुसार अघि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।


Tulac







