मनोज पण्डित अब सेन्सर बोर्डमा : आलोचकबाट निर्णयकर्ताको भूमिकामा

मनोज पण्डित अब सेन्सर बोर्डमा : आलोचकबाट निर्णयकर्ताको भूमिकामा
मनोज पण्डित अब सेन्सर बोर्डमा : आलोचकबाट निर्णयकर्ताको भूमिकामा

सुनसरी । नेपाली फिल्म क्षेत्रमा आफ्नो स्पष्ट, खरो र निर्भीक अभिव्यक्तिका कारण फरक पहिचान बनाएका निर्देशक मनोज पण्डित अब नीति निर्माण र निर्णय कार्यान्वयनको जिम्मेवारीमा पुगेका छन् । सरकारले उनलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत पण्डितलाई उक्त जिम्मेवारी दिएको हो । मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरका अनुसार हालै सरकारले जारी गरेको नयाँ अध्यादेशपछि सेन्सर बोर्डका तत्कालीन तीन सदस्य पदमुक्त भएका थिए । सोही रिक्त पदहरूमध्ये एकमा निर्देशक पण्डितलाई नियुक्त गरिएको हो । मन्त्रालयले बाँकी दुई पदमा पनि चाँडै नयाँ नियुक्ति गर्ने तयारी भइरहेको जनाएको छ ।

नियुक्तिपत्र बुझ्न आज मन्त्रालय पुगेका पण्डितले आफू अब आलोचक मात्र नभई जिम्मेवार निर्णयकर्ताको भूमिकामा पुगेको प्रतिक्रिया दिएका छन् । लामो समयदेखि नेपाली फिल्म उद्योग, सेन्सर बोर्डको कार्यशैली तथा चलचित्र नीतिका विषयमा खुलेर आवाज उठाउँदै आएका उनले अब व्यवहारिक सुधार गरेर देखाउने अवसर प्राप्त भएको बताएका छन् ।

“हिजोसम्म म प्रश्न गर्ने ठाउँमा थिएँ, आजदेखि जवाफ दिने र काम गरेर देखाउने जिम्मेवारीमा आएको छु,” पण्डितले भने । उनले बोर्डभित्र सुधार, पारदर्शिता र पुनर्संरचनाको खाँचो औंल्याउँदै फिल्मकर्मी र बोर्डबीच बढ्दो अविश्वास अन्त्य गर्न आफूले पहल गर्ने बताए ।

उनका अनुसार पछिल्ला वर्षहरूमा फिल्म उद्योग र सेन्सर बोर्डबीच दूरी बढ्दै गएको छ । यसले चलचित्र निर्माण प्रक्रिया, अभिव्यक्ति स्वतन्त्रता तथा नीतिगत समन्वयमा समेत असर पारेको उनको भनाइ छ । अब भने मेकरहरू र बोर्डबीच विश्वासको वातावरण निर्माण गर्दै पुराना विवाद तथा विसंगतिहरू समाधान गर्न आफू सक्रिय रहने उनले प्रतिबद्धता जनाए ।

निर्देशक पण्डित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्म निर्माणका लागि परिचित मानिन्छन् । उनी लामो समयदेखि नेपाली फिल्म उद्योगभित्रको संरचनागत समस्या, सेन्सर नीतिको अस्पष्टता र कलाकार तथा निर्माता–निर्देशकले भोग्नुपरेका चुनौतीबारे सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए । अब उनी स्वयं त्यही निकायको निर्णय तहमा पुगेपछि फिल्म क्षेत्रले समेत उनको भूमिकालाई चासोका साथ हेरेको छ ।