'लालीबजार' हेर्न हलमा १७ जनाको परिवार एकैसाथ: के छ त फिल्ममा त्यस्तो खास?
के परिवारले हेर्न मिल्छ 'लालीबजार' ? यो प्रश्न धेरैको मनमा थियो । किनकी फिल्म बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीको कथामा तयार गरिएको छ । फिल्ममा उत्ताउलो वा भड्किलो दृश्य वा संवाद होला की ? भन्ने पनि हुनसक्छ। तर यसलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दियो । अर्थात् यो बालबालिकादेखि वृद्धसम्मले हेर्न मिल्छ । योसँगै फिल्म प्रति निर्माण भएको धेरैको सोचमा परिवर्तन आयो । फिल्म त परिवारका सबै सदस्य एकसाथ बसेर हेर्ने मिल्ने रहेछ भन्नेमा दर्शक विश्वस्त भए ।
फिल्मको सार्वजनिक ट्रेलर, पोस्टरलाई लिएर उब्जिएको प्रश्नहरू फिल्म हेर्ने दर्शकले नै समाधान गरेका छन् । फिल्म हेर्न हलमा एकै परिवारका तीन पुस्तानै एकसाथ देखिएका छन् । आमाले छोराछोरी लिएर आइरहेका छन् भने छोरीहरुले आमालाइ लिएर हल आएका छन् । उनीहरू जुन उत्साह बोकेर हल आएका छन्,सन्तुष्टीका साथ फर्किएका छन् । परिवारले नै भरोसा गरेका कारण अहिले फिल्मले प्राप्त गरेका शोहरू हाउसफुल छन् । विशेषत एकै परिवारका ५/७ देखि १७ जनासम्म सदस्यहरू फिल्म हेर्न हलमा पुगेका छन् ।
आमाको रुपमा स्वस्तिमा खड्काले गरेको अभिनय, आफ्नी छोरीलाई शिक्षा दिन गरेको सङ्घर्षलाई दर्शकले रुचाएका छन् । आफ्नो सन्तानका लागि आमाले जस्तो सुकै लडाई पनि लड्न सक्छिन् भन्ने तथ्यलाई फिल्मले प्रमाणित गरेको छ ।
फिल्ममा स्वस्तिमासँगै बालकलाकार समाइरा थापा, नकारात्मक (भिलेन) को भूमिकामा देखिएका रवीन्द्रसिंह बानियाँ, हैजाको पात्रमा देखिएका अभयराज बराल, डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीको पनि दर्शकले तारिफ गरेका छन् । हल भिजिटमा विशाललाई दर्शकले नारायणकै नामले बोलाउने गरेका छन् । फिल्ममा उनले निर्वाह गरेको पात्र जस्तै सुन्दर र सुशील व्यक्ति चाहेको भन्दै दर्शकले तारिफ गरिरहेका छन् ।
जेहेन्दार तथा सुशील भूमिकामा देखिएकी प्रशंसाको महारानीको पात्रलाई पनि दर्शकले माया दिएका छन् । फिल्म हेर्ने दर्शकले यी दुईको भूमिकालाई तारिफ गरेका छन् । फिल्म हेर्ने दर्शकले पूर्ण पारिवारिक फिल्म भएको भन्दै प्रसंशा गरेका छन् । म्याक्स दीपेश खत्रीको निर्माण तथा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको 'लालीबजार' लाई यम थापाले निर्देशन गरेका छन् ।


admin@cinekura.com 






