‘द ब्ल्यू लाइट’ आर्थात निलो उज्यालोमा लुकेको अँध्यारो कथाको पहिलो झलक सार्वजनिक

‘द ब्ल्यू लाइट’ आर्थात  निलो उज्यालोमा लुकेको अँध्यारो कथाको पहिलो झलक सार्वजनिक

इटहरी/ आगामी मङ्सिर १२ गतेलाई प्रदर्शन मिति तय गर्दै आत्मा र मनोविज्ञानको गहिरो द्वन्द्व बोकेको फिल्म ‘द ब्ल्यू लाइट’ले दर्शकसामु आफ्नो पहिलो झलक प्रस्तुत गरेको छ । निलो र प्रकाशयुक्त पृष्ठभूमिमा अडिएको यो झलक रहस्य, डर र आन्तरिक पीडाको यात्राको संकेतजस्तै देखिन्छ । नायिका बेनिशा हमालको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यो झलकसँगै निर्माण टिमले फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरेको छ ।

फिल्मको टिजरले आरम्भमै एक मनोवैज्ञानिक तनावमा रहेकी छोरी र त्यसलाई बुझेका बुवाको संवाद देखाउँछ । छोरीले सपनामा बुवा मरेको देखेकी हुन्छिन्, बुवा भने ‘जसलाई मरेको सपना देखिन्छ, त्यो मान्छे धेरै बाँच्छ’ भन्दै छोरीलाई ढाडस दिन्छन् ।

टिजरको दोस्रो भागमा दर्शक एक अनिश्चित वातावरणमा प्रवेश गर्छन्, जहाँ हतियार बोकेर हिँडिरहेकी एक युवती छिन्, अर्को युवती भयको आवाजमा थरथराइरहेकी । यिनै दुईबीचको मनोवैज्ञानिक संघर्ष र डरलाई जित्ने प्रयास झल्किन्छ । हेर्नुस् पहिलो झलक ।

पोस्टरमा देखिएका तीन मुख्य पात्र-बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ-सबैजना तनावपूर्ण अनुहारमा प्रस्तुत छन् । विशेषगरी, सृष्टिको हातमा देखिएको रगतले लतपतिएको बन्चरोले फिल्मको हिंसात्मक रहस्यलाई गहिरो बनाउँछ । बलिराम चौहानको निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो । उनी ‘बलिदान’ फिल्ममा लेखक र मुख्य सहायक निर्देशकको रूपमा पहिल्यै परिचित भइसकेका छन् ।