मधेशको वास्तविक कथा बोकेको ‘प्रतिवैरम’मा प्रियंका कार्कीको आइटम डान्स (तस्वीरसहित)

इटहरी/ मधेशको सामाजिक-राजनीतिक धरातलमा आधारित भएर निर्माण भइरहेका फिल्म ‘प्रतिवैरम’को आइटम गीतको छायांकन सकिएको छ, जसमा अभिनेत्री प्रियंका कार्की फिचर भएकी छन् । काठमाडौस्थित चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म चलेको छायांकन कोरियोग्राफर सुरेन बसेलको निर्देशनमा सम्पन्न भएको हो ।
निर्देशक रोशन दासले लेखेको कथामा तयार भइरहेको यो फिल्मले मधेशको सौन्दर्य र समस्या दुवैलाई प्रस्ट रूपमा उठाउने दाबी गरिएको छ । “मधेशबारे बन्ने धेरै फिल्महरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरो समस्या । ‘प्रतिवैरम’ मार्फत त्यो अभाव हटाउने प्रयास गरेका छौं,” निर्देशक दास भन्छन् ।
फिल्ममा सामाजिक तथा राजनीतिक कथासँगै दाजु-बहिनीबीचको भावनात्मक सम्बन्ध समेटिएको छ । युवराज भट्टराईको पटकथामा तयार भइरहेको फिल्म रेज इन्टरटेनमेन्टको प्रस्तुति हो, जसलाई किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिँदैछ ।
फिल्ममा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री र अग्नि सुवेदीको मुख्य भूमिका रहनेछ । आइटम गीतमा संगीत मनिष अधिकारीको, शब्द रोशन दासकै रहेको छ भने गायिका रितिका श्रेष्ठले स्वर दिएकी छन् । छायांकन नितेश घतानले गरेका हुन् । निर्देशकका अनुसार फिल्मको आधा भन्दा बढी छायांकन सकिएको छ भने बाँकी भाग बर्खा सकिएपछि खिचिनेछ ।