फिल्म ‘कर्मा’को एक्सनबाट प्रभावित, उपासना सिंह ठकुरी एक्सन फिल्म खेल्ने

इटहरी/ नायिका उपासना सिंह ठकुरीले फिल्म ‘कर्मा’को सेटमा देखिएको एक्सन दृश्यबाट आफू निकै प्रभावित भएको खुलासा गरेकी छन् । सौरभ चौधरीद्वारा निर्देशित यो फिल्मको छायांकनका क्रममा एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । यद्यपि, ‘कर्मा’मा उनी स्वयं एक्सन भूमिकामा नरहेको स्पष्ट पार्दै उनले भविष्यमा एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।
“कर्मामा म एक्सन अवतारमा छैन, तर सेटमा देखिएको एक्सन सिनको स्तरले मलाई निकै छोयो,” उपासनाले भनिन्, “मैले अहिलेसम्म एक्सन सिनेमा गरेको छैन, तर अब यो विधामा काम गर्ने ठूलो रहर पलाएको छ ।” उनले थपिन्, “अब एक्सन सिनेमाबाट अफर आओस् भन्ने अपेक्षा छ, र म त्यसका लागि जस्तोसुकै तयारी गर्न पनि तयार छु ।” ‘कर्मा’मा नायक विपीन कार्कीको अपोजिटमा रहेकी उपासनाले एक्सन फिल्मको प्रस्तावको पर्खाइमा रहेको बताउँदै यो विधामा आफ्नो क्षमता देखाउने आत्मविश्वास पनि व्यक्त गरिन् ।
“मैले विभिन्न क्यारेक्टर निर्वाह गरिसकेँ, अब एक्सन सिनेमामा नयाँ चुनौती लिन चाहन्छु,” उनले भनिन् । नयाँ वर्ष २०८२ को अवसर पारेर ‘कर्मा’ यही चैत २९ गतेदेखी नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने भएको छ । सोसल ड्रामा, सस्पेन्स र एक्सनले भरिएको यो फिल्ममा उपासना र विपीनसँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्मालगायतका कलाकारको अभिनय छ ।
निर्देशक सौरभ चौधरीले लेखेको कथामा आधारित ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा वसन्त लम्सालको लगानी छ । ‘कर्मा’मा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । त्यस्तै, समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङले फिल्मलाई थप आकर्षक बनाएको छ ।