नयाँ स्वरूपमा माग्नेबुढा भाइरल बन्दै ‘माग्ने राजा’को गीत,

नयाँ स्वरूपमा माग्नेबुढा भाइरल बन्दै ‘माग्ने राजा’को गीत,

इटहरी/ नेपाली फिल्म ‘माग्ने राजा’को प्रचार तीव्र बन्दै जाँदा माग्ने बुढा अर्थात् केदार घिमिरेको नयाँ अवतारले दर्शक माझ कौतुहलता चुलिएको छ । पछिल्लो समय सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ ले मात्र होइन, त्यसमा देखिएको माग्नेको नयाँ स्वरुपले समेत फिल्मको कथावस्तुप्रति गहिरो चासो जगाएको छ । निर्देशक ऋषि लामिछानेका अनुसार, फिल्मको कथा यसै गीतमा देखिएको फेन्टासीमा आधारित छ ।

उनले स्पष्ट पारे, “पहिला टिजर र लोकगीतमा केदार घिमिरेलाई पुरानै छविमा देखाएका थियौँ, जसले केही दर्शकलाई भ्रममा पारेको थियो । तर अहिले सार्वजनिक गीतमार्फत हामी सिनेमा कहाँ जाँदैछ भन्ने स्पष्ट संकेत दिएका छौँ ।” निर्माता मुनाल घिमिरेले ‘माग्ने राजा’ लाई केवल हाँसोका लागि मात्र नभई सामाजिक सन्देश बोकेको फिल्मको रूपमा परिभाषित गरेका छन् । उनका अनुसार, “हाँसो भन्दैमा हलुका मजाक छैन । हामीले समस्यालाई हाँसोभित्रै संकेत गरेर समाधानतर्फ लैजाने प्रयास गरेका छौँ । यसले फिल्मपछि दर्शकमा बहसको वातावरण बनाउनेछ भन्ने विश्वास छ ।” हेर्नुस् भिडियो ।