मिस नेपाल २०२६’ मा ठूला परिवर्तन, इटहरीबाट सुरु हुँदै नयाँ संस्करणको अडिसन

मिस नेपाल २०२६’ मा ठूला परिवर्तन, इटहरीबाट सुरु हुँदै नयाँ संस्करणको अडिसन
मिस नेपाल २०२६’ मा ठूला परिवर्तन, इटहरीबाट सुरु हुँदै नयाँ संस्करणको अडिसन

सुनसरी । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ को ३१औँ संस्करण ‘मिस नेपाल २०२६’ नयाँ स्वरूप र महत्वपूर्ण परिवर्तनसहित सुरु भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले आधिकारिक रूपमा आवेदन खुला गर्दै कोशी प्रदेशको इटहरीबाट अडिसन यात्रा सुरु गर्न लागेको जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यस वर्षको संस्करण अघिल्लाभन्दा फरक र अन्तर्राष्ट्रिय स्तरअनुसार तयार गरिएको जानकारी दिएका हुन् । इटहरी कोअर्डिनेटर स्मित कार्कीका अनुसार जेठ १५ गते बिहान ९ बजेदेखि १२ बजेसम्म सोही होटलमा अडिसन सञ्चालन हुनेछ । पूर्वी नेपालबाट ४० देखि ५० जना युवती सहभागी हुने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारी सहभागी थिए । कार्यक्रममा बोल्दै लुना लुइँटेलले यस्ता प्रतियोगितामा अभिभावकहरूले छोरीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।

यस वर्षदेखि प्रतियोगितामा केही महत्वपूर्ण परिवर्तन गरिएको आयोजकले जनाएको छ । निर्देशक प्रमोद कंसाकारका अनुसार अब मिस वर्ल्डको अन्तर्राष्ट्रिय फर्म्याटअनुसार विभिन्न विधाहरू समावेश गरिनेछ । साथै, यसपटकदेखि ‘मिस नेपाल अर्थ’ उपाधि हटाइएको छ । अब प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेसनल गरी तीन मुख्य विजेता चयन गरिनेछन् ।

यस संस्करणका प्रतियोगीहरूका लागि भियतनामका चर्चित फेसन डिजाइनर ‘नामोद’ ले विशेष ड्रेस तथा गाउन डिजाइन गर्ने भएका छन् । त्यस्तै, ग्रान्ड फिनालेमा ‘मिस कोस्मो’ का अन्तर्राष्ट्रिय विजेता, आयोजक तथा रनरअपहरूको पनि विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आगामी साउन २६ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनबाट गरिनेछ । प्रतियोगिताबाट छनोट हुने तीन विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।