पशुपतिमा फिल्मकर्मीहरूको अन्तिम बिदाइ सहज बनाउन कलाकारद्वयको सहयोग
इटहरी । फिल्म क्षेत्रमा सक्रिय कलाकारहरूले पर्दामा मात्रै होइन, सामाजिक जिम्मेवारीमा पनि उदाहरण प्रस्तुत गरिरहेका हुन्छन् । यही क्रममा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले फिल्मकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीलाई व्यवस्थित र सम्मानजनक बनाउन आवश्यक सामग्री कर्रा पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।
पाशुपत क्षेत्रमा आयोजित कार्यक्रममा कलाकारद्वयले कोषका अधिकृत सुर्य भाटलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा यो सहयोग गरेका हुन् । यसअघि पनि उनले महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोगलगायत विभिन्न मानवीय अभियान सञ्चालन गर्दै आएका छन् । सामग्री हस्तान्तरणपछि सविन श्रेष्ठले फिल्मकर्मीहरूको निधन हुँदा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्रीको अभाव देखिनु दुःखद अनुभूति हुने गरेको बताए ।
कहिले कुर्सी त कहिले अन्य सामग्री खोज्नुपर्ने अवस्थाले आफूलाई भावुक बनाएको उल्लेख गर्दै उनले यही अनुभवपछि यो काम गर्ने निर्णय लिएको बताए । उनले फिल्मकर्मी मात्र नभई पत्रकार तथा आवश्यक परेका अन्य व्यक्तिहरूले पनि उक्त सामग्री प्रयोग गर्न सक्ने जानकारी दिए । अभिनेत्री अनु शाहले जन्म र मृत्यु जीवनको अन्तिम सत्य भएको उल्लेख गर्दै फिल्म क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम बिदाइ सम्मानजनक ढंगले होस् भन्ने उद्देश्यले गरिएको यो अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् ।
पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटले सविन श्रेष्ठको सहयोगले पशुपतिमा अन्तिम संस्कार हुने फिल्मकर्मीहरूको व्यवस्थापनमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश दिने पनि बताए । सविन श्रेष्ठका अनुसार उक्त सामग्री तयार पार्न सुदीप पन्त र नरेश कुँवरले सहयोग गरेका हुन् । साथै, पशुपतिमा सामग्रीको व्यवस्थापन तथा सहजीकरणका लागि प्रोडक्सन म्यानेजर रामहरी डंगोललाई जिम्मेवारी दिइएको बताइएको छ ।


Tulac







