‘होस्टेल ३’को ‘रक अन’ गीत सार्वजनिक, दोस्रो हप्तामा पनि दर्शकको उत्साह उस्तै

‘होस्टेल ३’को ‘रक अन’ गीत सार्वजनिक, दोस्रो हप्तामा पनि दर्शकको उत्साह उस्तै
‘होस्टेल ३’को ‘रक अन’ गीत सार्वजनिक, दोस्रो हप्तामा पनि दर्शकको उत्साह उस्तै

इटहरी/ नेपाली फिल्म ‘होस्टेल ३’ ले प्रदर्शनको दोस्रो हप्ता प्रवेश गर्दा पनि दर्शकको उत्तिकै साथ पाइरहेको छ । पहिलो हप्तामै उल्लेखनीय व्यापार गरेको यो फिल्मको गीत ‘रक अन’ दर्शकहरूको मागअनुसार युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक सशान कँडेलका अनुसार, फिल्मको अन्त्यमा समावेश गरिएको यो गीतलाई दर्शकहरूले मन पराएपछि डिजिटल प्लेटफर्ममा रिलिज गरिएको हो ।

गीतमा पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको अभिनय छ भने स्वर समीर काजीले दिएका छन् । यसलाई महेश ज्ञवालीले लेखेका तथा संगीतबद्ध गरेका हुन् भने एरेन्जर योगेश काजी रहेका छन् । फिल्मको व्यापारको कुरा गर्दा, ‘होस्टेल ३’ ले पहिलो हप्तामा नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ ।

नेपालबाहेक यो फिल्म हाल मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा प्रदर्शन भइरहेको छ भने नेपाली समुदाय रहेका अन्य मुलुकहरूमा समेत रिलिज हुने तयारीमा रहेको निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार र अस्ट्रेलियाबाट समेत राम्रो व्यापार भइरहेको चर्चा छ । दोस्रो हप्तामा पनि दर्शकको चाप घटेको छैन । निर्देशक कँडेलका अनुसार, शनिवार हलमा उल्लेखनीय दर्शक उपस्थित भए । हेर्नुस् भिडियो ।

कडेलका अनुसार ‘हामी निरन्तर हल भिजिट गरिरहेका छौँ, वितरकहरूबाट राम्रो रिपोर्ट पाइरहेका छौँ । दोस्रो हप्ताको शनिवार त झनै उत्साहजनक रह्यो,’ उनले भने । यो फिल्ममा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको प्रमुख भूमिका छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् ।

आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा देखिएका छन् । ‘होस्टेल ३’ को पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् भने उनले नै एसोसियट निर्देशन पनि सम्हालेका छन् । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन् ।