नीताको ‘पार्वती’मा दीपाश्रीको इन्ट्री,असोजबाट छायांकन

नीताको ‘पार्वती’मा दीपाश्रीको इन्ट्री,असोजबाट छायांकन

निर्माणको तयारीमा रहेको सिनेमा ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलबार उनलाई सिनेमाको निर्माण टिमले अनुबन्ध गरेको हो। यस सिनेमाकी अभिनेत्री तथा निर्देशक निता ढुंगाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताइन्।

‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियो,’ दीपाश्रीलाई सिनेमामा अनुबन्ध गर्दै निताले भनिन्, ‘आज (मंगलबार) चाही फाइनल हुनु भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो।’ निताले दीपालाई नायिकाको रुपमा अनुबन्ध गरेको बताइन्। सिनेमामा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नितासँगको सहकार्यलाई सम्झिइन्।

‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा 'छ एकान छ'मा हामीलाई हेल्प गरेकी थियौँ,’ दीपाले निताको तारिफ गर्दै भनिन्, ‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौँ 'पार्वती'मा। अहिले यो साउनको महिना, शिव–पार्वती जोडिएको महिना र पार्वती जस्तो सिनेमामा लिड रोलमा मौका पाएँ। धन्यवाद छ मलाई सम्झेकोमा।’

निताले १२ वर्षअघि उहाँले आफूलाई सिनेमामा सम्झिनु भएको र १२ वर्षपछि आफ्नो निर्देशनमा दीपालाई लिन पाएकोमा खुशी व्यक्त गरिन्। दीपाश्री छक्का पञ्जा टिमकी सफल निर्देशक तथा अभिनेत्री समेत हुन्। उनले निर्देशन गरेका अधिकांश सिनेमा सफल भएका छन्। त्यस कारण पनि यो सिनेमामा उनी अनुबन्धित हुँदा अर्थपूर्ण तरिकाले हेरिएको छ ।

दीपाश्री अनुबन्ध हुनु अघि यो सिनेमाका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए। सफल अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले निर्देशन गर्न लागेको सिनेमामा उनी आफै मुख्य भुमिकामा अभिनय गर्दैछिन् ।

आगामी असोजदेखि छायांकन सुरु हुने यो सिनेमाका दुई वटा पोस्टर समेत सार्वजनिक भइसकेका छन्। निर्माण टिमले गत शनिबार दुई पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ। सिनेमा आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमामा नीता, दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएका छैनन्। निर्देशक निताका अनुसार कलाकार र प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।

सिनेमाको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। सिनेमामा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन्। निताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ सिनेमामार्फत निर्माणमा होमिएकी थिइन्। यस पटक भने नीताले ‘पार्वती’ र ‘सुख–दुःख’ सिनेमामार्फत निर्देशनमा पाइला राख्न लागेकी हुन्। वितरण पक्षमा, उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।