‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै
इटहरी/ पूर्वी पहाडको जीवनशैली र सामाजिक यथार्थलाई पर्दामा उतार्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मैझारो’ मार्फत अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर फेरि एकपटक सँगै देखिने भएका छन् । चर्चित कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’को लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा धीरज र मिरुनाको जोडी बाँधिने भएको हो ।
यसअघि फिल्म ‘कुस्ती’ मा एकसाथ अभिनय गरिसकेका उनीहरूको यो दोस्रो सहकार्य हो । धीरज सोमबार अनुबन्धित भए भने मिरुनाले मंगलबार निर्माण टिमसँग लिखित सम्झौता गरेकी हुन् । निर्देशकको रूपमा यो विल्सनको डेब्यु प्रोजेक्ट पनि हो ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत, राजेश पायल राईको स्वर, सौरभ लामाको छायांकन रहनेछ ।
फिल्मको छायांकन साउनको पहिलो साताबाट सुरु गर्ने तयारी छ । इलाम र पाँचथरका रमणीय पहाडी स्थानहरूमा खिचिने यो फिल्म पूर्वी नेपालको मौलिक कथा बोकेको बताइएको छ ।
पूरा कलाकार लाइनअप यसै साता सार्वजनिक गरिने तयारी गरिएको छ ।












