रक्षाबन्धनको भावनात्मक कथासहित आउँदै ‘पार्वती’, निर्देशकको रूपमा नीता ढुंगानाको नयाँ यात्रा सुरु
इटहरी । अभिनेत्री नीता ढुंगानाले फिल्म ‘पार्वती’मार्फत पहिलो पटक निर्देशनमा डेब्यु गरेकी छन् । रक्षाबन्धनको भावनासँग जोडिएको कथावस्तु बोकेको फिल्मको पहिलो लुक्स शुक्रबार विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरहरूले पारिवारिक सम्बन्ध, आत्मीयता, संघर्ष र भावनात्मक यात्राको कथा प्रस्तुत गर्ने संकेत दिएका छन् ।
सार्वजनिक गरिएको पहिलो पोस्टरमा नीता स्कुले छात्राको पोसाकमा देखिएकी छन् । छोटो कपाल, नीलो फ्रक र घाँटीमा बाँधिएको कालो धागोले उनको पात्रभित्र लुकेको पीडा, संघर्ष र रहस्यलाई झल्काएको छ । पोस्टरमा उनको गम्भीर हेराइ र संवेदनशील अभिव्यक्तिले दर्शकमाझ चासो थप बढाएको छ ।
अर्को पोस्टरमा भने बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको दृश्य देखाइएको छ । उमेरमा सानो भए पनि अशोकको पात्रले नीताको जीवनमा भरोसा, साथ र सहाराको भूमिका निर्वाह गरेको अनुमान पोस्टरले गराउँछ । दुवै कलाकारको अनुहारमा देखिएको निष्कपट मुस्कानले फिल्म केवल मनोरञ्जनमा सीमित नभई गहिरो भावनात्मक सम्बन्धको कथा भएको संकेत दिएको छ ।
फिल्मलाई आगामी भदौ १२ गते, रक्षाबन्धनको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । पोस्टरमा देखाइएको दिदी–भाइको आत्मीय सम्बन्ध र रिलिज मितिको छनोटले पनि फिल्म पारिवारिक सम्बन्ध, जिम्मेवारी, त्याग र माया–स्नेहको कथामा केन्द्रित रहेको स्पष्ट संकेत गर्छ ।
‘पार्वती’ नीताका लागि विशेष महत्व बोकेको फिल्मका रूपमा हेरिएको छ । किनकि उनले यस फिल्ममा कथा, पटकथा, निर्देशनसँगै मुख्य भूमिका समेत निर्वाह गरेकी छन् । यसले फिल्म उनको व्यक्तिगत रूपमा निकै नजिक र महत्वाकांक्षी परियोजना रहेको देखाउँछ ।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ । नीता ढुंगाना फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने प्रोडक्सन तथा कार्यकारी निर्माताको जिम्मेवारी शंकर पाण्डेले सम्हालेका छन् ।
पहिलो लुक्स सार्वजनिक भएसँगै ‘पार्वती’प्रति दर्शकको उत्सुकता बढ्न थालेको छ । पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ ।


Tulac 






