'पाँच पाण्डव' को निर्माण टोली लोकेशन हन्टिङका लागि कोशी प्रदेशमा, छायाङ्कन फागुन १ गतेदेखि
इटहरी/ छायांकनको तयारीमा रहेको फिल्म 'पाँच पाण्डव' को निर्माण टोली यतिबेला लोकेशन हन्टिङका लागि कोशी प्रदेश आइपुगेको छ । 'कालिरानी फिल्म्स'को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायाङ्कनका लागि उपयुक्त स्थानको खोजी गर्न निर्देशक वसन्त निरौला नेतृत्वको टोली शनिबार इटहरी आइपुगेको हो ।
शनिबार इटहरीस्थित इलाईट सिनेमा हलमा पत्रकारहरूसँग अनौपचारिक भेटघाट गर्दै निर्माण पक्षले फिल्मबारे जानकारी गराएको छ । यो फिल्ममा नेपाली फिल्म जगतका दिग्गज कलाकारहरूको अभिनय रहनेछ । फिल्मका मुख्य कलाकारहरूमा हरिवंश आचार्य, दीपाश्री निरौला, आर्यन सिग्देल, जितु नेपाल, रजनी गुरुङ र सागर लम्साल (बले) रहेका छन् । निर्देशक वसन्त निरौलाका अनुसार फिल्मको छायाङ्कन आगामी फागुन १ गतेदेखि सुरु हुनेछ ।
कोशी प्रदेशका विभिन्न मनोरम दृश्यहरूमा खिचिने यस फिल्मको छायाङ्कन सेड्युल ४० दिनको रहने जनाइएको छ भने फिल्मको छायांकन पूर्णरुपमा कोशी प्रदेशमा हुनेछ । यद्यपि, फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । इटहरी पश्चात लोकेशन फाइनल गर्नका लागि टोली हाल झापाको दमक र विर्तामोड तर्फ प्रस्थान गरेको छ ।
लोकेशन हन्टिङमा निर्माता नवीन श्रेष्ठ, निर्देशक वसन्त निरौला, प्रोडक्सन म्यानेजर दिलीप पन्त, डिओपी श्याम तामाङ, आर्ट डाइरेक्टर सन्तोष लामा र मुख्य सहायक निर्देशक दिनेश बहादुर राउत सहभागी छन् । कमेडी र सोसल ड्रामा जनरामा रुची राख्ने दर्शकहरूका लागि यो फिल्मले ठूलो पर्दामा नयाँ स्वाद पस्कने अपेक्षा गरिएको छ ।

admin@cinekura.com 





