आर्यन र नीतिको प्रेम झल्किने ‘कोशेढुंगा’को नयाँ पोस्टर सार्वजनिक
नेपाली सिनेमा ‘कोशेढुंगा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा आर्यन सिग्देलको भावपूर्ण अनुहार र नीति शाहले कोमल भावका साथ एउटा पाठोलाई अँगालो मार्दै बोकेको दृश्य समावेश छ, जसले सिनेमामा उनीहरूको प्रेमकथा देख्न सकिने संकेत दिन्छ।
केही दिनअघि मात्र निर्माण पक्षले तीनवटा पोस्टरसहित ‘कोशेढुंगा’को लिरिकल कविता सार्वजनिक गरेको थियो। ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको यस सिनेमाले दर्शकमाझ ठूलो अपेक्षा बोकेको छ।
नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बनेको ‘कोशेढुंगा’मा आर्यन सिग्देल, नीति शाह, सुरक्षा पन्त, ऋचा शर्मा, मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायत कलाकारको अभिनय रहेको छ।
यो सिनेमा नेपालसहित विश्वका ४२ भन्दा बढी देशमा एकैपटक रिलिज हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ। पहिलोपटक यति धेरै देशमा एकैसाथ प्रदर्शन हुन लागेको हुँदा यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमले व्यक्त गरेको छ।
लेखक तथा निर्देशक सरोज पौडेलको यस कृतिमा प्रबिन कन्डेल र किशोर अग्रवाल निर्माता रहेका छन् भने प्रमुख सहलगानीमा नरेन्द्र अधिकारी छन्। ‘कोशेढुंगा’ भदौ १२ गते (अगस्ट २८) बाट देशभर प्रदर्शनमा आउनेछ। सिनेमा प्रेम, संघर्ष र सम्बन्धको गहिरो कथा मार्फत दर्शकलाई भावनात्मक रूपमा छुन प्रयास गर्ने जनाइएको छ।


admin@cinekura.com 









