उत्तम–निरुताको पुनर्मिलन रहेको ‘सारथि’को छायांकन सम्पन्न
काठमाडौं । नेपाली चलचित्रका चर्चित जोडी उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको फिल्म ‘सारथि’को मुख्य छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा सांस्कृतिक महत्व बोकेका स्थानमा एक महिनासम्म गरिएको छायांकन सकिएसँगै निर्माण टोली पोस्ट–प्रोडक्सनको तयारीमा जुटेको छ ।
निर्देशक कुमार गजुरेलका अनुसार फिल्मको सम्पूर्ण मुख्य छायांकन पूरा भइसकेको छ । केही दृश्य मिलाउन काठमाडौंमा एक दिनको छायांकन बाँकी रहेको उनले बताए ।
सामाजिक कथावस्तुमा आधारित ‘सारथि’ले म्याग्दीको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवनलाई पर्दामा उतार्ने प्रयास गरेको छ । फिल्ममा गुर्जा र चुरेन हिमालका आकर्षक दृश्यहरू पनि समेटिएका छन् ।
फिल्ममा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल तथा धिरेन मोक्तानलगायत कलाकारहरूको अभिनय रहेको छ ।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धिरज तामाङ र बेकबहादुर विश्वकर्मा सहनिर्माता रहेको फिल्ममा प्रदीप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् ।


Tulac








