उत्तम–निरुताको दुई दशकपछि पुनर्मिलन, ‘सारथी’को मुख्य छायांकन सम्पन्न

उत्तम–निरुताको दुई दशकपछि पुनर्मिलन, ‘सारथी’को मुख्य छायांकन सम्पन्न
उत्तम–निरुताको दुई दशकपछि पुनर्मिलन, ‘सारथी’को मुख्य छायांकन सम्पन्न

काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय र सदाबहार जोडी उत्तम प्रधान र निरुता सिंह करिब दुई दशकपछि फिल्म ‘सारथी’ मार्फत पुनः एकसाथ दर्शकमाझ आउने भएका छन् । उनीहरूको बहुप्रतिक्षित पुनर्मिलन रहेको फिल्मको म्याग्दीस्थित गुर्जा खानीमा तय गरिएको मुख्य छायांकन सफलतापूर्वक सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।

निर्देशक कुमार गजुरेलका अनुसार गत वैशाख १५ गतेदेखि सुरु भएको छायांकन एक महिनाभित्र सम्पन्न गरिएको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण तर भौगोलिक रूपमा दुर्गम गुर्जा क्षेत्रमा छायांकन सकेर टोली काठमाडौं फर्किएको छ । अब फिल्मको जम्मा एक दिनको छायांकन बाँकी रहेको र त्यसलगत्तै पोस्ट–प्रोडक्सनको काम सुरु गरिने निर्देशक गजुरेलले बताए ।

निर्माण पक्षका अनुसार पोस्ट–प्रोडक्सन सम्पन्न भएपछि मात्र फिल्मको आधिकारिक प्रदर्शन मिति घोषणा गरिनेछ । सामाजिक कथावस्तुमा आधारित ‘सारथी’ले म्याग्दीको गुर्जा क्षेत्रको मौलिक संस्कृति, परम्परा र जनजीवनलाई पर्दामा उतार्ने प्रयास गरेको छ । फिल्ममा ढुंगा र माटोले बनेका परम्परागत घर, छन्त्याल तथा दलित समुदायको जीवनशैलीसँगै गुर्जा र चुरेन हिमालका आकर्षक दृश्यहरू समेटिएका छन् ।

फिल्मले गुर्जा क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास निर्देशक गजुरेलको छ । चलचित्रमा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तानलगायत कलाकारहरूको अभिनय रहेको छ ।

किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । प्रदीप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा धिरज तामाङ र बेकबहादुर विश्वकर्मा सह–निर्माताका रूपमा रहेका छन् । फिल्मको लाइन प्रोड्युसर अमिर केसी तथा छायाकार संकल्प भुजेल हुन् । मौलिक कथा, मनोरम दृश्य र नेपाली चलचित्रका चर्चित जोडीको पुनर्मिलनका कारण ‘सारथी’प्रति दर्शकमाझ उत्सुकता बढेको छ ।