कथा चोरी भए कानुनी कारबाही गर्ने निर्देशक रितेशको चेतावनी, ‘वर्णशङ्कर नारदे’को अवधारणा नक्कल नगर्न आग्रह

कथा चोरी भए कानुनी कारबाही गर्ने निर्देशक रितेशको चेतावनी, ‘वर्णशङ्कर नारदे’को अवधारणा नक्कल नगर्न आग्रह
कथा चोरी भए कानुनी कारबाही गर्ने निर्देशक रितेशको चेतावनी, ‘वर्णशङ्कर नारदे’को अवधारणा नक्कल नगर्न आग्रह

सुनसरी । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत प्राप्त गरिसकेको नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य तथा अवधारणा अनुमति बिना प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्ट्याटस लेख्दै बौद्धिक सम्पत्तिमाथि हस्तक्षेप भए कानुनी उपचार खोज्ने बताएका हुन् ।

निर्देशक रितेशका अनुसार फिल्म लेखनको क्रममा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यबारे छलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । तर हाल तीमध्ये केही व्यक्ति आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यशाला र प्रदर्शनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै उनले सिर्जनात्मक सामग्री चोरी नगर्न आग्रह गरेका छन् ।

उनले ९ महिना अघि चलचित्र विकास बोर्डबाट प्राप्त निर्माण इजाजतको सक्कल प्रमाणपत्र सार्वजनिक गर्दै आफ्नो परियोजना आधिकारिक रूपमा दर्ता भइसकेको स्पष्ट पारेका छन् । यद्यपि फिल्मको छायांकन कार्य भने अझै सुरु भएको छैन र परियोजना प्रि–प्रोडक्सन चरणमै रहेको जनाइएको छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “सिर्जना भनेको मौलिकता हो । अरूको बौद्धिक सम्पत्ति, कथा, दृश्य वा अवधारणालाई अनुमति बिना प्रयोग गर्नु सिर्जना होइन, त्यो चोरी हो । यदि मैले साझा गरेका कथा, दृश्य वा अवधारणाहरू तपाईँहरूको चलचित्रमा प्रयोग गरिएको पाइयो भने, म कानुनी उपचार खोज्न बाध्य हुनेछु ।”

उनले आवश्यक परे चलचित्र विकास बोर्ड, निर्देशक समाज तथा सम्बन्धित फिल्मकर्मी संस्थासम्म पुगेर आफ्नो बौद्धिक अधिकारको रक्षा गर्ने बताएका छन् । साथै, आफ्ना साथीहरूलाई विश्वासमाथि चोट नपुर्‍याउन र समान सामग्री प्रयोग गरिएको भए पुनर्विचार गर्न आग्रह गरेका छन् ।

निर्देशक रितेशका अनुसार ‘वर्णशङ्कर नारदे’ कुनै सामान्य पात्र नभई समाजमा पहिचान खोजिरहेको, अपहेलना सहँदै बाँचेको र परिस्थितिले निर्माण गरेको जटिल पात्र हो । फिल्म इलाम र पाँचथरको सीमावर्ती क्षेत्रको पृष्ठभूमिमा आधारित रहनेछ ।

फिल्ममा खस आर्य, क्षेत्री, बाहुन, तामाङ, विश्वकर्मा, भुजेल, राई र लिम्बूलगायत समुदायबीचको सामाजिक एकता, सम्बन्ध, अन्तरविरोध र समयले सिर्जना गरेका जटिल अवस्थालाई कथामार्फत प्रस्तुत गरिने जनाइएको छ । साथै, पूर्वेली भाषा, संस्कृति, रहनसहन, चालचलन र सामाजिक मनोविज्ञानलाई पनि फिल्ममा समेटिनेछ ।

श्री परिधि फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको अनुमानित बजेट ८५ लाख रुपैयाँ रहेको छ । निर्माण अवधि ३ वर्ष तोकिएको फिल्मको इजाजत निर्देशक रितेशले चलचित्र विकास बोर्डबाट २०८२ साल साउन ५ गते प्राप्त गरेका थिए ।

विकास बोर्डको दर्ता प्रमाणपत्रअनुसार फिल्ममा सुवास खरेल, सम्रान्त थापा, दीपा पोखरेललगायत कलाकारहरूको अभिनय रहनेछ भने निर्देशक रितेश जंग खत्री स्वयं पनि अभिनयमा देखिनेछन् ।