लिम्बू मुन्धुमी दर्शन र अत्याधुनिक प्रविधिको संगममा बनेको ‘मुन्धुम’को टिजर सार्वजनिक

लिम्बू मुन्धुमी दर्शन र अत्याधुनिक प्रविधिको संगममा बनेको ‘मुन्धुम’को टिजर सार्वजनिक
लिम्बू मुन्धुमी दर्शन र अत्याधुनिक प्रविधिको संगममा बनेको ‘मुन्धुम’को टिजर सार्वजनिक

सुनसरी । लिम्बू समुदायको मौलिक मुन्धुमी दर्शन, आध्यात्मिक विश्वास र आधुनिक प्रविधिको अद्भुत संयोजन प्रस्तुत गर्ने नेपाली फिल्म ‘मुन्धुम’को टिजर सार्वजनिक गरिएको छ । 

यसअघि पोस्टरमार्फत चर्चा कमाएको फिल्मले टिजरमार्फत आफ्नो रहस्यमयी संसार झनै प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । टिजरको सुरुवातमै गुन्जिने मुन्धुम फलाकेको गम्भीर र ओजपूर्ण आवाजले दर्शकलाई आकर्षित गर्छ । त्यससँगै देखाइएका विशाल हिमाली भू–दृश्य, मनमोहक प्राकृतिक दृश्य र सिनेम्याटिक प्रस्तुतीले टिजरलाई भव्य बनाएको छ ।

उच्चस्तरीय पिक्चर क्वालिटी, आकर्षक कलर ग्रेडिङ तथा भिएफएक्सको प्रयोगले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिलाउने प्रयास गरिएको देखिन्छ । विशेषगरी नितिन चन्दको सिजिआई र निर्माण टिमको प्राविधिक मेहनत टिजरका दृश्यहरूमा स्पष्ट रूपमा झल्किएको छ ।

फाक्तालुङ फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मुन्धुम’ पूर्ण रूपमा लिम्बू समुदायको आस्था, संस्कृति र दर्शनमा आधारित छ । टिजरको मुख्य विषयवस्तु ‘द सेक्रेट अफ सामसामा’ रहेको छ । लिम्बू मुन्धुमी मान्यता अनुसार ‘सामसामा’ मृत्युपश्चात आत्माले तय गर्ने आध्यात्मिक यात्रा र अन्तिम गन्तव्यसँग सम्बन्धित अवधारणा हो ।

टिजरमा याक्थुङ समुदायको पवित्र स्थल फक्ताङ्लुङ र अत्यन्त श्रद्धाका साथ मानिने पङलुङ  छेलो ढुंगा समेत देखाइएको छ । यिनै धार्मिक, सांस्कृतिक र आध्यात्मिक पक्षलाई निर्देशक प्रकाश सुब्बाले काल्पनिक तथा सिनेम्याटिक शैलीमा प्रस्तुत गरेका छन् ।

फिल्मको छायांकन पूर्वी नेपालका सांस्कृतिक रूपमा समृद्ध जिल्ला भोजपुर र ताप्लेजुङका विभिन्न रमणीय स्थानमा गरिएको हो । टिजरमा फिल्मका मुख्य पात्रहरूको समेत परिचय गराइएको छ ।

फिल्ममा पूर्ण लिम्बू, प्रेम सुब्बा, सन्जु लिम्बू थलाङ, राजकुमार आङ्देम्बे र सागर केरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।