सुनसरी । यही जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कुम्भ’को नयाँ रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । आर.ए.ए. डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले फिल्मको रोमान्स, ग्ल्यामर र सांगीतिक पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।
पप तथा आधुनिक शैलीमा तयार गरिएको गीतमा मुख्य कलाकार अशोक आर्यान र सृष्टि खड्काबीचको प्रेमिल केमेष्ट्रीलाई कलात्मक रूपमा देखाइएको छ । विशेषगरी समुद्री किनारमा छायांकन गरिएका दृश्यहरूले गीतलाई अझ आकर्षक बनाएको छ । भिडियोमा अभिनेत्री सृष्टि खड्का ‘ह्वाइट बिकिनी’ लुकमा बोल्ड र ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छन् ।
गीतमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई रोमान्टिक शैलीमा चित्रण गरिएको छ । भिडियोका दृश्यहरूमा अशोक र सृष्टिबीचका प्रेमिल क्षणहरूलाई सौन्दर्यपूर्ण ढंगले उतारिएको छ ।
ए रास प्रोडक्सनको प्रस्तुति रहेको यस गीतमा मनिष शाहीको स्वर, डिजे ए।एन।को संगीत रहेको छ । गीतका शब्द फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठले लेखेका हुन् । सोनु जीले गीतको री–कम्पोज, मिक्सिङ र मास्टरिङ गरेका छन् भने मल्टिम्याट स्टुडियोमा अडियो रेकर्डिङ गरिएको हो ।
फिल्म ‘कुम्भ’मा निर्देशक रणधीर श्रेष्ठले लेखन, निर्देशन, छायांकन र सम्पादनको जिम्मेवारी आफैं सम्हालेका छन् । फिल्ममा अशोक आर्यान र सृष्टि खड्कासँगै स्वर्गीय अभिनेता सुनील थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह बडैला, सुरेन्द्र ठाकुर, अफसाना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ, विजय यादव, महेन्द्र मैनाली, आनन्द चतुर्वेदी, संजय बैठा, भोला शाह, भाले डन र बसन्त भट्टराईको अभिनय रहेको छ ।
रोबर्ट बडैलाको कोरियोग्राफी रहेको भिडियोमा सम्राट बस्नेत तथा भारतका प्रदीप खड्का, संजय थापा र कुमार महर्जनको संयुक्त द्वन्द्व निर्देशन रहेको छ ।
फिल्ममा दिनेश विष्ट कृति एफएक्सको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ, शैलेन्द्र बाबु प्रधानको ब्याकग्राउण्ड स्कोर तथा सागर अर्यालको साउन्ड डिजाइन र फिल्म मिक्सिङ रहेको छ । दक्षिण भारततर्फको व्यवस्थापन शबरीश कब्बिनाले तथा नेपालतर्फ आकाश बज्राचार्यले सम्हालेका छन् ।
ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता रहेको ‘कुम्भ’लाई रणधीर श्रेष्ठ र राजेश शाहले निर्माण गरेका हुन् । सुनिल मानन्धर र श्री राम बालाजी फिल्मस्को वितरणमा आउन लागेको यो फिल्मले एक्सन, रोमान्स र ड्रामाको मिश्रण दर्शकमाझ पस्कने निर्माण टिमको विश्वास छ ।