निर्वाचनको दिन फिल्म हल बन्द: 'लालिमा' र 'टक्सिक' को पर्खाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन देशभरका फिल्म हलहरू बन्द रहने भएका छन्। नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थका
अनुसार, कर्मचारीहरूलाई मतदानको अधिकार प्रयोग गर्ने वातावरण मिलाउन यस्तो निर्णय गरिएको हो।यसबारे संघको आगामी बैठकले औपचारिक घोषणा गर्ने भए तापनि QFX जस्ता ठूला चेनहरूले सामाजिक सञ्जालमार्फत बन्दको जानकारी दिइसकेका छन्।
निर्वाचनको सरगर्मीले गर्दा हाल हलहरूमा दर्शकको चाप निकै न्यून छ। अहिले नेपाली फिल्महरू ‘आ बाट आमा’, ‘कुमारी’, र ‘प्रवासी जीवन’ प्रदर्शनरत भए तापनि ‘आ बाट आमा’ बाहेक अन्यले खासै व्यापार गर्न सकेका छैनन्।
हलिउड र बलिउडका केही चलचित्रहरू पनि प्रदर्शनमा छन्, तर चुनावी माहोलले गर्दा अपेक्षित व्यापार हुन सकेको छैन।निर्वाचन सकिएपछि फिल्म क्षेत्र पुनः जुर्मुराउने अपेक्षा गरिएको छ। फागुन २९ मा ‘लालिमा’ र चैतमा ‘हामी तीन भाइ’ तथा ‘राम नाम सत्य’ जस्ता नेपाली फिल्महरू प्रदर्शन हुँदैछन्।
त्यस्तै, चैतको पहिलो साता दक्षिण भारतीय फिल्म ‘टक्सिक’ र बलिउडको ‘धुरन्धर २’ प्रति दर्शकको ठूलो पर्खाइ छ।







