काठमाडौं । आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा र इतिहासलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यसहित छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ। चलचित्र विकास बोर्डको हलमा सोमबारदेखि सुरु भएको तीनदिने महोत्सवमा विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेट्ने कथानक चलचित्र, लघु फिल्म, वृत्तचित्र तथा एआई प्रविधिबाट निर्मित वृत्तचित्रहरू प्रदर्शन गरिने भएका छन्।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भइरहेको महोत्सवले नेपालका विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचान, कला, संस्कार र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
महोत्सव निर्देशक सागर केरुङका अनुसार यसपटक प्रदर्शन गरिने चलचित्रहरूले आदिवासी जनजाति समुदायभित्र रहेका विविध संस्कृति, सामाजिक परिवेश र मौलिक कथाहरूलाई दर्शकमाझ प्रस्तुत गर्नेछन्। उनले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई समुदायको इतिहास, पहिचान र जीवनदर्शन अभिव्यक्त गर्ने प्रभावकारी साधनका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए।
आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले महोत्सवले लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे। उनले समुदायका अनुभव, संघर्ष र मौलिकतालाई चलचित्रमार्फत दस्तावेजीकरण गर्ने प्रयासले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरोसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’ लगायतका कथानक चलचित्र प्रदर्शन गरिनेछन्। साथै विभिन्न वृत्तचित्र र लघु चलचित्रहरू पनि दर्शकका लागि प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार महोत्सवको समापन समारोहमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्र विधामा पुरस्कार प्रदान गरिनेछ। यसले आदिवासी जनजाति चलचित्रकर्मीलाई थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले यस्ता महोत्सवले नेपालको मौलिक सांस्कृतिक सम्पदालाई उजागर गर्दै विविध समुदायको पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले चलचित्र क्षेत्रलाई सांस्कृतिक दस्तावेजीकरणको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
आदिवासी जनजाति समुदायका कथा, संस्कृति र जीवनशैलीलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सवले नेपाली चलचित्र क्षेत्रमा सांस्कृतिक विविधताको महत्वलाई थप उजागर गर्नुका साथै मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।